• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवद्वारा सुदर्शन र कञ्चन बर्खास्त, बिज्ञप्तिसहित

    3.4K
    SHARES

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेका छन् । बुधबार विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको बताएका छन्।

    सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ। ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

    दुई पटक बैठक बसेर पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर उनीहरूले फुटपरस्त र अराजक अन्तवार्ता दिएको आरोप छ।

    विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा सहभागी हुने/नहुनेबारे विवाद थियो। चैत पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्न सकेको थिएन। विप्लवसहित केही नेताहरू चुनावमा सहभागी हुनुपर्छ भन्नेमा थिए भने धर्मेन्द्र र हेमन्तप्रकाशलगायत नेताले चुनावमा भाग लिन नहुने धारणा राखेका थिए।

    पार्टीले औपचारिक निर्णय गर्न नसकेपछि विप्लवका नेता/ कार्यकर्ताले रोल्पा, दाङ लगायत जिल्लामा स्थानीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। सचिवालय सदस्य धर्मेन्द्रले त्यसरी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै विज्ञप्ति निकालेका थिए।

    यसरी चुलियो विवाद
    स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।

    बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । अन्तमा पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने निर्णय भयो । यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । तर, पार्टी निर्णय विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई निर्वाचनमा उम्मेदवारी दिन लगाए । त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए ।

    तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले फेल गराउन मिडियामार्फत प्रतिवाद गरेका थिए । अन्तमा चुनावकै विषयलाई लिएर ओली र बास्तोलालाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निर्णयमा पुग्ने भएका हुन् । यस्तो छ बिप्लवको बिज्ञप्ति

    ”हाम्रो जनप्रिय पार्टीको ऐतिहासक बाह्रो पूर्ण वैठकले राजनैतिक प्रस्तावसहित सबै निर्णयहरु एकमतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरीको बुझाइलाई केन्द्रीत र एकरुप बनाइदिएको थियो । अपसोच सचिवालय सदस्य सुदर्शन र कञ्चनले त्यसपछि लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावना विपरित वैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नु भयो ।

    काठमाण्डौंमा सचिवालयका कमरेडहरु बीच दुइ पटक बसेर पार्टीका पारित निर्णयहरुको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरियो । तर निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी संचारमाध्यममा फूटपरस्त एवं अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नु भयो । तै पनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवाल सदस्य कञ्चनले कुनै संपर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कार्यवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गंभीर बन्न पुग्यो ।

    सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र हो । यो समस्याको चुरोकुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखिनै क. सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए । सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गंभीर छलफल भए ।

    त्यसैगरी कमरेड कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गंभीर छलफल चलेका थिए र केही विषयमा मेल खाएको थिएन । तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ ।

    यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो । चुनावकै कुरा गर्दा गएको असोज–कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजारकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राख्नु भएको थियो र जिल्लाका कमरेडहरुले प्रश्नसमेत गर्नु भएको थियो । अनि कञ्चन कमरेडले नवौं पूर्ण वैठक देखिनै राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नु पर्ने धारणा राख्दै आउनु भएको थियो, जुन विषय कार्यनैतिक रुपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउने भन्दा पनि गलत हुन्छ ।

    उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन माक्र्सवादको विश्लेषण हुन्छ ? यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन ।

    अर्को कुरा जव कनै नेताले आफ्ना राजनैतिक दृष्टिकोण र व्यवहारिक गतिविधिहरु पार्टीका वैचारिक, राजनैतिक, आर्थिक एवं संगठनात्मक मान्यताहरुभन्दा उल्टो गर्दै जान्छ, आफ्नो गलत सोचहरु सार्वजनिक रुपले तथानाम राख्न थाल्छ, उसले औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुन्छ । उसले केवल अलग हुने सहज बाटोको खोजी मात्र गरिरहेको हुन्छ । सचिवालय सदस्य सुदर्शन र कञ्चन यस्तै अवस्थामा पुग्नु भएको छ । सुदर्शन जी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरुसँग छलफल गरियो ।

    सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न वैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ । हामी पार्टीमा यस्तो नहोस भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको छ । तथापि हामी सबै पार्टी पंक्तिलाई बाह्रो पूर्ण वैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ