काठमाडौं, १२ फागुन ।
साता सार्वजनिक चर्चामा रहेको पुस्तक हो– योगमाया । अमेरिकामा बसोवास गरिरहेकी नीलम कार्की निहारिकाको नयाँ उपन्यास हो, ‘योगमाया’ । र, यो गम्भीर विषयमा लेखिएको मात्र नभई लामो अनुसन्धानपछि बजारमा आएको पुस्तक हो ।
सत्य घटनालाई उपन्यासमा ढाल्न लेखकले निकै मेहनत गरेको देखिन्छ । कृति लेख्न कतिसम्म मेहेनत गर्नुपर्छ भन्ने यसले बताएको छ ।
को हुन् योगमाया ?
योगमाया विक्रम सम्वत १९१७ सालमा भोजपुरको दिङ्लामा जन्मिएकी थिइन् । त्योबेला चाँडै विवाह गर्नुपर्ने चलन । योगमायाको विवाह पनि ५ वर्षकै उमेरमा १२ वर्षीय रामहरि कोइरालासँग भयो । अज्ञात रोगका कारण बालपतिको मृत्यु भएपछि योगमाया पुनः माइत नै फर्कनुपर्यो ।
सानै उमेरदेखि तीक्ष्ण स्वभावकी योगमाया कवितात्मक भाषामा कुरा गर्थिन् र एकपल्ट जानेको कुरालाई आकर्षक रुपमा अरुलाई बताउन सक्थिन् । तर तत्कालीन समाजले उनको तिक्ष्णताको उपहास गर्न थाल्यो । उल्टै उनलाई ‘पोइटोकुवा’, ‘अलच्छिनी’ र ‘बैकल्य’जस्ता नामले बोलाउन थाल्यो ।
घर, माइती र गाउँले समेतले उनको क्षमतालाई ‘जवानीले कुत्कुत्याएको’ अर्थमा लिन थाल्यो । तैपनि समाजमा ब्याप्त कुरीति र विसंगतीमाथि बोल्न छाडिनन्, योगमायाले । उनले पढेकी थिइनन् तर जति बुझिन्, त्यसकै आधारमा विरोध गर्न पछि परिनन् ।
पुस्तक लेख्नुअघि अनुसन्धान गर्दै नीलम
समयसँगै उनको उमेर बढ्दै गयो र शारीरिक आवश्यकता पनि । यसले उनलाई गाउँकै युवा प्रजापति डोटेलसँग नजिक गरायो । यसले समाजमा ठूलो हुण्डरी ल्यायो । अन्त्यमा उनीहरु भागेर आसाम पुगे । केही वर्षपछि फर्केर उनीहरु छुट्टै बसे । योगमायाले एकजना साधुको सहयोगमा धार्मिक अनुष्ठान र कठोर ब्रत सुरु गरिन् । त्यसपछि आफूले अनुभव गरेका सामाजिक कृत्यविरुद्ध सामाजिक आन्दोलन पनि सुरु गरिन् । यसका लागि काठमाडौं आएर श्री ३ जुद्ध समशेरलाई भेटिन् ।
जुद्धशमशेरले सतिप्रथा, छुवाछुत प्रथाका विषयमा ध्यान दिएर सुन्न त सुने, तर त्यसलाई हटाउन उर्दी जारी गरिदिएनन् । समाजमा हुने यस्ता कृत्य सहेर बस्न सक्ने कुरा भएन । उनले त्यसको विरोध जारी राख्दै आफ्ना अनुयायीलाई ठूलो अग्निकुण्डमा होम गर्न लगाइन् ।
त्यसपछि समाजको कृत्य हटाउन आफू र आफ्ना अनुयायीलाई त्यही कुण्डमा हाम फालेर ज्यान फाल्ने उर्दी जारी गरिन् । यो खबर धनकुटाको राणा दरवारसम्म पुग्यो । होम नसकिँदै सेनाले अग्निकुण्डलाई नियन्त्रणमा लियो र योगमाया र उनका समर्थकलाई जेलमा हालियो ।
जेलमा रहेकै अवस्थामा योगमायाका केही समर्थकको मृत्यु भएपछि उनीहरुलाई छाडियो ।
तर उनले आफ्नो अभियानको प्रचार गर्दै अन्त्यमा अग्नी समाधीको सट्टा जल समाधी लिने योजना बनाइन् । यही क्रममा विक्रम सम्बत १९९८ साल असार २२ गते अरुण नदीको उर्लंदो भेलमा योगमायासहित ६८ जनाले नारा लगाउँदै ज्यान अपर्ण गरे ।
केहीले ६८ जनाको नामावली फेला परे पनि अपरिचित सयौं व्यक्ति अरुण नदीमा हामफालेको बताउने गरेका छन् । नेपालको इतिहासमा सामाजिक न्यायको माग गर्दै लडिएको त्यो एउटा सशक्त बलिदानीपूर्ण संघर्ष थियो ।
ऐतिहासिक दस्तावेज
योगमायाले तात्कालीन समाजमा गरेका सबै काम लिखित उपलब्ध छैनन् । तर काठमाडौं आएका बखत उनको कवितात्मक प्रस्तुति र सामाजिक न्यायको भाषण उल्लेखनीय रहेको बताइन्छ । यस विषयमा केही पुस्तक, दुईवटा डकुमेन्ट्री बनेका छन् । यद्यपि, यसलाई औपन्यासिक रुप दिने काम भने भर्खरैै निलम कार्की निहारिकाले गरेकी हुन् । पाठकबाट राम्रो प्रतिक्रिया आइरहेको उनले अनलाइनखबरलाई बताएकी छन् ।
चलचित्रको विषयवस्तु
सामाजिक आन्दोलनका हिसावले एउटी निरक्षर महिलाले सुरु गरेको यो कार्य विश्व इतिहासमा विरलै हुने घटना मानिन्छ । यस्ता खालका विषयमा धेरै सिनेमा बनेका र पुस्तक लेखिएका छन् । केही समयअघि भारतको चित्तोढगढकी रानी पदमावतीलगायतका सयौं महिलाले अग्नी समाधि लिएको कथावस्तुमा आधारित हिन्दी चलचित्र ‘पद्मावत’ले संसारभर बहस सिर्जना गरेको थियो ।
योगमाया ‘पद्मावत’भन्दा गम्भीर विषय भए पनि ओझेलमै परिरहेको थियो । ‘योगमाया’ उपन्यासले त्यसलाई सरल भाषामा आजका पुस्तामाझ ल्याइदिएको छ, जुन नेपाली चलचित्र निर्माताका लागि पनि राम्रो विषयवस्तु हो ।
(अनलाइनखबरबाट साभार गरिएको)
प्रतिक्रिया