काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारीसाधनको लामो जाम भएपछि यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन्। लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन लागेको हो।
पानी परेसँगै बाटो चिप्लो बनेको र केही सवारीसाधन बिग्रिएर सडकमै रोकिएपछि राजमार्गमा आवागमन सुचारु गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। एक जना कार चालकका अनुसार, उनी हिजो बेलुका दाउन्ने पुगेका थिए तर जामका कारण रातभर सडकमै अड्किएर आज बिहान मात्रै दुम्किबास आइपुगेका हुन्। उनका अनुसार, थुप्रै यात्रुहरू रातभर सडकमै बस्न बाध्य भएका छन्।
अरुणखोला र चोरमारातर्फको जंगल क्षेत्रमा करिब ४०० सवारीसाधन रोकिएका छन्। स्थानीयहरूका अनुसार, दाउन्ने खण्डमा सयौँ ट्रक, बस र निजी गाडी लामबद्ध रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार, दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बस बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो। “दाउन्ने खण्डमा सवारीसाधनको अत्यधिक चाप छ,” निरीक्षक खड्काले भने, “पानी परेकाले बाटो चिप्लो छ, जसका कारण हिजोदेखि नै समस्या थपिएको छ।”
हाल प्रहरीले बिग्रिएका सवारीसाधन हटाउने र ट्राफिक सहज बनाउन प्रयास जारी राखेको जनाएको छ।
प्रतिक्रिया