• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी समाचार

    कारागारका डाक्टरले अवस्था गम्भीर छ भन्दा पनि प्रशासनले वेवास्ता गरिरह्यो, जब सुदर्शन ढले अनि पुर्याइयो गंगालाल

    8.7K
    SHARES

    काठमाडाैं । करिब एक हप्ताअघि नै नख्खु कारागारका डाक्टरले सुदर्शनलाई गंगालाल रिफर गरेका थिए । सुदर्शन अर्थात् हेमन्तप्रकाश ओली, जो बिप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सचिवालय सदस्य हुन् । उनलाई नेकपाका अधिकांश नेता कार्यकर्ताले एक आदर्श कमरेड, दार्शनिक नेता, आस्थाको सतिसाल, जनयुद्धको कुशल कमान्डर, शहिदको पिता र एक इमान्दार कर्तव्यनिस्ट सिपाही भनेर चिन्छन् ।

    करिब २ बर्ष ४ महिनादेखि उनी नख्खु जेलमा छन् । कर तिर्न आनाकानी गर्दै आएको एनसेलको मुख्यालयमा ०७५ फागुन १० गते नेकपाले ब’म बिस्फोट गरेर सांकेतिक कारवाही गरेको जनाएको थियो । उक्त विस्फोटमा परी एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । त्यसबेला सुदर्शन नेकपा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज थिए । पार्टीका तर्फबाट विज्ञप्ति निकाल्दै घटनाको जिम्मा लिएपछि सुदर्शन प्रहरीको व्यापक खोजीमा परे । नभन्दै सुदर्शनसहित ९ जनालाई प्रहरीले ०७५ चैत ८ गते शुक्रबार राति काभ्रेबाट गिरफ्तार गर्यो।

    त्यसपछि ०७६ बैशाख ९ गते जिल्ला अदालत ललितपुरले सुदर्शनसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसंगै उनीहरुलाई नक्खु कारागार पठाइयो । त्यसयता उनी कारागारमै थिए । उनीसंगै कारागार गएका ७ जना कार्यकर्ता रिहा भए पनि उनी र अर्का एक जनालाई भने ओली सरकारले जेलमै राखेको छ। कारागार प्रशासनले सुदर्शनलाई बेला बेलामा आफन्तसंगको भेटघाटमा समेत रोक लगाउदै आएको थियो ।

    २०७७ फागुन १० गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बबुँदे सहमति भयो। सहमतिमा दुबै पक्ष देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्ने सहमत भयाे । तर सरकारले सहमतिको पालना गरेन । नेकपाका केहि नेता कार्यकर्ता रिहा भए, तर उनीहरु कानुनी प्रकृया पुरा गरेर, धरौटी तिरेर रिहा भए । कानुनी हिसाबले मुद्दा फैसला नभएका सुदर्शन र नेकपा केन्द्रीय सदस्य भरत बम ‘रणबीर’ अझै जेलमै छन् ।

    सुगर, प्रोस्टेट, कोलेस्ट्रोल, प्रेसर र मुटुरोगबाट पीडित सुदर्शन लामो समयदेखि औषधी सेवन गरिरहेका छन् । करिब १ हप्ताअघि नै कारागारका डाक्टरले सुदर्शनलाई गंगालाल अस्पताल रिफर गरेको पारिवारिक स्रोत बताउछ । तर कारागार प्रशासनले भने वेवास्ता गरिरहेको थियो । शुक्रबार जब एक्कासी सुदर्शन बेहाेस भएर ढले अनि पुर्याइयो बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्र !

    सुदर्शनका हातखुट्टा सुन्निएका छन्, मुख पनि फुलेको छ । उनलाई साइलेन्ट ‘हर्ट–अट्याक’ भएको उपचारमा संग्लन डाक्टरहरुले बताएका छन् । नेता सुदर्शनकी जीवन संगिनी अम्बिका चन्द ओलीले पहिले पनि धेरै पटक उनलाई साइलेन्ट ‘हर्ट–अट्याक’ भइसकेको र अहिले पनि उनको स्वास्थ्यमा थप संकट पैदा हुँदै आएको अवस्थामा समेत सरकारले राजनीतिक पूर्वाग्रह साँधेर स्वास्थ्यजस्तो संवेदनशील बिषयमा पनि लापरवाही गरेको दुखेसो पोखिन ।

    शुक्रबार दिउसो १ बजेतिर गंगालाल पुर्याइएका सुदर्शनको आकस्मिक कक्षमा राखेर उपचार भइरहेकाे छ । तर उनलाई त्यहाँ पनि प्रहरीले पहरा दिइरहेको छ । साथै उपचार खर्च आफै व्यहोर्नु भनेर ड्युटीमा खटिएका प्रहरीले आफुलाई भनेको चन्दले बताइन । ओली सरकारले रानीतिक आस्थाकै आधारमा गिरफ्तार गरेर नेता सुदर्शनलाई जेलमा राखेको भए पनि उनको उपचार खर्च भने नव्यहोर्ने जानकारी गराएको हो। । ”म अस्पतालबाट निस्किदै गर्दा प्रहरी भाईले ‘सरकारले उपचार खर्च बेहोर्दैन, आफै खर्च खोज्नु’ भने” उनले सञ्चारकेन्द्रसँग भनिन । चन्द सुदर्शनको स्वास्थ्य अवस्थालाई लिएर एकदमै चिन्तित बनेकी छिन ।

    नख्खु कारागारकाे चिसोमा बस्दा पछिल्लो समय सुदर्शनको शरिर सुन्नीने समस्या पनि बढ्दै गएको उनको भनाइ छ । अहिले सुदर्शनले ५ वटा रोगको ११ वटा औषधी नियमित सेवन गर्दै आएका छन्, जसकारण उनलाई अन्य असरहरु पनि देखा परेका छन् । शुक्रबार सुदर्शन अस्पताल भर्ना भएसंगै उनलाई भेट्न आउने शुभचिन्तकहरुको भिड लागेको थियो ।

    शनिबार बिहानबाट भने डाक्टरको सल्लाहअनुसार भेटघाट गर्न दिइएको छैन तर नेकपा प्रवक्ता प्रकाण्ड र माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यतिबेला पार्टी महासचिव विप्लव आफ्नो गृहजिल्ला कपिलबस्तुमा छन् । सुदर्शनको स्वास्थ्य अवस्था जटिल बनेपछि उनी पनि काठमाडाैं आउने तयारीमा रहेको नेकपा स्रोतले सञ्चारकेन्द्रलाई बताएको छ ।

    को हुन् हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ?

    रुकुमको त्रिवेणी गाउँपालिका घर भएका सुदर्शन नेकपाभित्रका सबैभन्दा बढी वैचारिक नेताको रुपमा चिनिन्छन् । जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको उच्च तहमा रहेका उनी माओवादी विभाजन हुँदा लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीहुँदै नेकपा माओवादी केन्द्रमा थिए ।

    सो पार्टीमा असन्तुष्ट भएपछि उनले छुट्टै नेकपा न्यूक्लियस गठन गरे । त्यसपछि मात्रै उनले विप्लव नेतृत्वको नेकपासँग एकता गरे । हाल उनी सो पार्टीमा विप्लवको राजनीतिक, सैदान्तिक र दार्शनिक सहयोगीकारुपमा रहेका छन् । साहित्यिक र दार्शनिक क्षेत्रमा सुदर्शन एचपी हिमालीको नामबाट स्थापित छन् ।

    शान्ति प्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका सुदर्शन माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमान्दार र अध्ययनशील नेताको रुपमा चिनिन्छन् । उनी लामो जेल जीवन बिताउने कम्युनिष्ट नेतामध्येका एक हुन् । यसअघि जनयुद्धको क्रममा २०५५ साल माघ २८ गते बाजुरामा गिरफ्तार परेर उनी २०५८ असार २१ गते रिहा भएका थिए ।

    २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका सुदर्शन २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागीहुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य बने र २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए।

    २०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्दा उनी रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार थिए भने २०५४ सालमा भारतको हरियाणामा भएको बैठककबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा चयन भएका थिए ।

    पार्टी केन्द्रीय सदस्य भएको एक बर्षपछि बझाङ र बाजुरामा कार्यक्षेत्र भएको बेला जेल परेका सुदर्शनले रिहा भएपछि पुनः २०५५ को गोवा केन्द्रीय समिति बैठकमा सहभागी भएर जनयुद्धकालमा कमिसार र पार्टीको ब्यूरो इञ्चार्जको रुपमा जिम्मेवारी बहन गरे ।

    नेपालमा शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्यूरो इञ्चार्ज हुँदा जनएकता तथा रुपान्तरण अभियानको अगुवाइ गरेका उनी लामो समय मगरात राज्य समिति इञ्चार्जको जिम्मेवारीमा रहे । पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा पोलिटब्यूरो सदस्य हुँदा देशभरका नेता कार्यकर्ताका सबै खाले कुरा सुन्ने, त्यसको राजनीतिक बैचारिक समाधान दिने र लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गएका बेला उनको पुनः गिरफ्तारी भयो ।

    त्यसपछि पार्टीमा दार्शनिक राजनीतिक हिसाबले छलफल बहस गर्ने र आन्तरिक समस्यालाई बैज्ञानिक ढंगले समाधान गर्ने नेताको अभाव नै भएको नेकपा नेता कार्यकर्ताहरु बताउछन । पार्टीमा पैदा भएका विभिन्न आन्तरिक समस्याका कारण असन्तुष्ट बनेका र निस्क्रिय रहेका नेता कार्यकर्ता समेत सुदर्शन रिहा भएपछि पार्टीमा सक्रिय भएर जोडिने आशामा छन् ।

    प्रतिक्रिया