• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राजनीति

    नेपालमा फेरि बन्दुक उठ्छ- वैद्य

    64.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् । आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए । उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो ।

    संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो । विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन ।

    यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’

    महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

    यस्तै यता नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)बीच ३ बुँदे सहमति भएको छ । सहमति पत्रमा दुवै पार्टीका प्रमुख नेता विप्लव र सुशीलले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षरित बिज्ञप्तिमा दुई कम्युनिस्ट पार्टीबीच दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने जनाइएको छ । यस्तै दुवै पार्टीले क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने जनाएका छन् ।

    शनिबार साझ सार्वजिनक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।- “आज मिति २०७७ फागुन २९ गतेका दिन हामी नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच संयुक्त बैठक बसि निम्न सहमति गरियो । १) दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, २) क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, ३) यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने ।”

    नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशिल’ले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन् । हालै मात्र ओली सरकारसँग वार्ता गरेर सार्वजानिक भएका विप्लवले अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग निरन्तर छलफल जारी राखेका छन् ।

    तत्काल पार्टी एकता गरेर अगाडी बढ्न तयार पार्टीहरुसँग पार्टी एकता गर्ने र अन्य पार्टीसँग संयुक्त मोर्चा बनाएर सहकार्य गर्ने गरी सबै बापन्थी क्रान्तिकारीहरुसँग छलफल जारी गरिएको नेकपाका महासचिव विप्लवले सञ्चारकेन्द्रसँग बताएका छन् । के अब तपाईहरु पार्टी एकता गरेर अगाडी बढ्न तयार भएको हो ? भन्ने सञ्चारकेन्द्रको प्रश्नमा विप्लवले भने- “हो हामी पार्टी एकता गरेर सँगै जान तयार पार्टीसँग एकता र अहिलेलाई संयुक्त रुपमा कार्यक्रम र संघर्षमा जान तयार पार्टीहरुसँग कार्यगत गरेर अगाडी बढिरहेका छौ ।”

    गत माघ २९ गते बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीबीच संयुक्त मोर्चा घोषणा गरेर अगाडी बढिरहेको नेकपाले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गरेर संयुक्त संघर्ष अगाडि बढाएपछि राजनीतिक वृतमा निकै तहल्का पिट्ने गरी छलफल हुन थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया