काठमाडौँ । अमेरिकाका सांसदसहित २१ सदस्यीय टोलीले नेपालको भ्रमण गर्दै उच्चस्तरीय भेटवार्ता तथा विभिन्न क्षेत्रको अवलोकन गरेको छ। भ्रमणका क्रममा नेपाल–अमेरिका सुरक्षा सहकार्य, सीमापार आपराधिक गतिविधि नियन्त्रण र वैध व्यापारको सुरक्षाजस्ता विषयमा छलफल भएको जनाइएको छ।
उक्त टोलीका १६ सदस्य भुटान हुँदै नेपाल आएका थिए भने पाँच सदस्य थाइल्याण्डको बैंकक हुँदै काठमाडौँ आइपुगेका थिए। भुटान हुँदै आएको टोलीको नेतृत्व अमेरिकी प्रतिनिधिसभाको वेज एन्ड मिन्स कमिटीका अध्यक्ष जेसन स्मिथले गरेका थिए। त्यस्तै, बैंकक हुँदै आएको टोलीको नेतृत्व रिपब्लिकन पार्टीका सिनेटर टोड योङले गरेका थिए।
उपलब्ध विवरणअनुसार, कात्तिक ६ गते थाई एयरलाइन्सको उडानमार्फत बैंकक हुँदै काठमाडौँ आएका टोलीका सदस्यले नेपालस्थित अमेरिकी दूतावासका कर्मचारी तथा नेपाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

सिनेटर योङ नेतृत्वको टोलीसँग भएका छलफलमा नेपाल र अमेरिकाबीच सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाएको थियो।
गैरकानुनी आपराधिक सञ्जालमाथि नियन्त्रण, वैध व्यापारिक कारोबारको सुरक्षा तथा दुवै मुलुकको सुरक्षा र आर्थिक समृद्धिलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार, यो भ्रमणले सीमापार अपराध नियन्त्रण तथा संगठित आपराधिक सञ्जालविरुद्ध नेपाल र अमेरिकाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।

यसैबीच, अमेरिकी टोलीले चितवन राष्ट्रिय निकुञ्जको समेत अवलोकन गरेको थियो। भ्रमण टोलीमा जेसन थोमस स्मिथ, डेभिड शेरिडन स्वाइकर्ट, एलिस मारी स्टेफानिक, विलियम एन्ड्र्यु ओगल्स चौथो र लौरा सिरिल फ्रिडम्यानलगायत सांसद, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य सहभागी रहेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया