• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    मलेसिया रोजगारीबारे प्रश्न उठेपछि मन्त्रालयले भन्यो : कूटनीतिक पहल भइरहेको छ

    557
    SHARES



    काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको जनाएको छ ।

    मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा नेपाली वैदेशिक रोजगार व्यवसायी आबद्धताको विषयमा समस्या देखिएपछि सरकारले कूटनीतिक समाधानका लागि पहल नगरेको भन्दै प्रश्न उठिरहेको छ । यसै विषयमा आज रातोपाटीले ‘मलेसियाको रोजगारी समस्या : कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार मुकदर्शक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

    मन्त्रालयले शनिबार साँझ प्रेस नोटमार्फत मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबिचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको हो ।

    मन्त्रालयका अनुसार नेपालले मलेसिया सरकारसँग नेपाली श्रमिक पठाउने प्रक्रियालाई नेपाल–मलेसिया श्रम सम्झौताअनुसार व्यवस्थित गर्न अनुरोध गरिरहेको छ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित, प्रतिस्पर्धी र निर्बाध बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

    यसैबिच, सरकारले एफडब्लूसीएमएसमा आबद्ध नेपाली वैदेशिक रोजगार व्यवसायीमाथि छानबिनसमेत अघि बढाएको छ । वैदेशिक रोजगार विभागले प्रणालीमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थालाई आबद्धता निरन्तरता नदिन तथा आफू प्रणालीबाट बाहिरिएको प्रमाणसहित जानकारी गराउन निर्देशन दिएको छ ।

    त्यस्तै, ती मुख्य संस्थाका ‘आबद्ध’ वा ‘सहयोगी संस्था’ का रूपमा सूचीकृत २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया हाललाई रोक्का गरिएको छ । विभागले २५ मुख्य संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अपनाइएको प्रक्रियाबारे छानबिन गरिरहेको जनाएको छ ।

    छानबिनका क्रममा कानुनविपरीत संलग्नता, गैरकानुनी आर्थिक कारोबार वा प्रतिस्पर्धा सीमित गर्ने गतिविधि पुष्टि भए आवश्यक कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ