काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा खटिएको प्रहरी टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
प्रसाईंले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै प्रहरी टोली उनी रहेको स्थानमा पुगेको र नियन्त्रणमा लिएको बताइएको छ। पक्राउको कारणबारे प्रहरीले औपचारिक विवरण भने सार्वजनिक गरिसकेको छैन।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दा तथा घटनाका क्रममा पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै आएका छन्। गत जेठ ४ गते पनि उनी पर्साको वीरगन्जस्थित एक होटलबाट पक्राउ परेका थिए। त्यसबेला सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो।
यसअघि तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित घटनापछि पनि प्रसाईं चर्चामा आएका थिए। उक्त प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको थियो भने त्यस घटनासँग सम्बन्धित विषयमा पनि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको थियो।
प्रहरीले प्रसाईंमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। पक्राउसँग सम्बन्धित थप विवरण आधिकारिक रूपमा सार्वजनिक भएपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया