काठमाडौँ । उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई अब तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ।
साथै, कसुरको प्रकृतिअनुसार ५ दिनदेखि १५ दिनसम्म नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति रोक्का गरिने कानुनी व्यवस्था गरिएको छ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
मूल्य घट्ने अनुमान गर्दै मंगलबार अधिकांश पेट्रोलियम व्यवसायीले आयल निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलको आपूर्तिमा समस्या देखिएको थियो।
उक्त घटनापछि अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित बनाउने व्यवसायीलाई कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव को निर्देशनमा बुधबार साँझ नै नेपाल आयल निगमको सञ्चालक समिति बैठक बसेर विनियमावली संशोधन गर्ने निर्णय गरेको हो।
संशोधित विनियमावलीको दफा २९(घ)(१) मा ‘बिक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपिएको छ।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ।
दोस्रो पटक दोहोरिए छ लाख रुपैयाँ जरिवानासहित १० दिनसम्म आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक पनि उल्लंघन गरे १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।
निगमका अनुसार यो व्यवस्थाले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिमा नियन्त्रण आउने र सर्वसाधारणलाई नियमित रूपमा इन्धन उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया