
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् ।
निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन्।
पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।
कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।
कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा सङ्गठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिइन् ।
प्रतिक्रिया