• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय कभर स्टोरी

    अमेरिकाले इरानमाथि आक्रमण गरेमा के हुन सक्छ ? यस्ता छन् सात सम्भावित परिदृश्यहरू

    702
    SHARES



    फ्रान्क गार्डनरअमेरिका केही दिनभित्रै इरानमाथि आक्रमण गर्न तयार देखिन्छ। सम्भावित निसानाहरू धेरै हदसम्म अनुमान गर्न सकिए पनि, यसको नतिजा भने अनिश्चित छ।

    तसर्थ, यदि अन्तिम समयमा तेहरानसँग कुनै सम्झौता हुन सकेन र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई आक्रमणको आदेश दिए भने, कस्ता परिणामहरू आउन सक्छन्?

    १. लक्षित र सटिक हमला, न्यूनतम मानवीय क्षति र लोकतन्त्रतर्फको सङ्क्रमण

    अमेरिकी वायु र नौसेनाले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स’ (आईआरजीसी) र यसको मातहतमा रहेको अर्धसैनिक बल ‘बसिज’ का सैन्य आधारहरू, ब्यालेस्टिक मिसाइल प्रक्षेपण तथा भण्डारण स्थलहरू र इरानको आणविक कार्यक्रमलाई लक्षित गरी सीमित र सटिक हमला गर्छन्।

    पहिले नै कमजोर बनेको सत्ता पल्टिन्छ र अन्ततः वास्तविक लोकतन्त्र स्थापना हुन्छ, जहाँबाट इरान पुनः विश्व समुदायसँग जोडिन सक्छ।

    यो अत्यन्तै आशावादी परिदृश्य हो। इराक र लिबियामा पश्चिमा सैन्य हस्तक्षेपले लोकतन्त्रमा सहज सङ्क्रमण ल्याउन सकेन। यद्यपि त्यहाँ क्रुर तानाशाही अन्त्य भयो, तर त्यसले वर्षौँसम्म अराजकता र रक्तपात निम्त्यायो।

    सन् २०२४ मा पश्चिमा सैन्य सहयोग बिना नै राष्ट्रपति बसर अल-असदलाई अपदस्थ गरेर आफ्नै क्रान्ति गरेको सिरियाको अवस्था भने अहिलेसम्म राम्रो देखिएको छ।

    २. सत्ता जोगिने तर नीतिहरू नरम हुने

    यसलाई मोटामोटी रूपमा ‘भेनेजुएला मोडेल’ भन्न सकिन्छ, जसमा अमेरिकी कडा कारबाहीपछि पनि सत्ता यथावत् रहन्छ तर यसका नीतिहरू नरम हुन्छन्।

    इरानको सन्दर्भमा, यसको अर्थ इस्लामिक गणतन्त्र सत्तामा टिकिरहन्छ (जसले धेरै इरानीहरूलाई सन्तुष्ट पार्ने छैन), तर ऊ मध्यपूर्वमा हिंसात्मक मिलिसियाहरूलाई दिने समर्थन रोक्न, आफ्नो घरेलु आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रम सीमित गर्न तथा प्रदर्शनहरूमाथिको दमन कम गर्न बाध्य हुनेछ।

    फेरि पनि, यो सम्भावना कम छ। इस्लामिक गणतन्त्रको नेतृत्व ४७ वर्षदेखि परिवर्तनको प्रतिरोध गर्दै आएको छ। अहिले आएर उसले आफ्नो बाटो बदल्न सक्ने सम्भावना देखिँदैन।

    ३. सत्ताको पतन र सैन्य शासनको उदय

    धेरैले यसलाई सबैभन्दा सम्भावित नतिजा मानेका छन्। यद्यपि सत्ता स्पष्ट रूपमा धेरै जनतामाझ अलोकप्रिय छ र वर्षौंदेखि भइरहेका प्रदर्शनले यसलाई कमजोर बनाएको छ, तर त्यहाँ यथास्थितिमा स्वार्थ जोडिएको विशाल र व्यापक सुरक्षा संयन्त्र छ।

    अहिलेसम्म प्रदर्शनहरूले सत्ता पल्टाउन नसक्नुको मुख्य कारण भनेको सत्ता पक्षबाट ठुलो विद्रोह नहुनु हो, जबकि सत्तामा रहेकाहरू शक्तिमा टिकिरहन जस्तोसुकै बल प्रयोग र क्रुरता अपनाउन तयार छन्।

    अमेरिकी हमलापछिको अन्योलपूर्ण स्थितिमा इरानमा मुख्यतया आईआरजीसीका अधिकारीहरू सम्मिलित एक बलियो सैन्य सरकार बन्ने सम्भावना देखिन्छ।

    ४. इरानद्वारा अमेरिकी सेना र छिमेकीहरूमाथि जवाफी हमला

    इरानले अमेरिकी आक्रमणको बदला लिने कसम खाएको छ र भनेको छ, ‘हाम्रो औँला ट्रिगरमा छ’। यो स्पष्ट छ कि इरान अमेरिकी नौसेना र वायुसेनाको शक्तिको अगाडि टिक्न सक्दैन, तर ऊ गुफाहरू, भूमिगत सुरुङहरू वा दुर्गम पहाडहरूमा लुकाइएका ब्यालेस्टिक मिसाइल र ड्रोनहरूको भण्डार प्रयोग गरेर आक्रमण गर्न सक्छ।

    खाडीको अरब क्षेत्रमा, विशेष गरी बहराइन र कतारमा अमेरिकी आधारहरू र सुविधाहरू छन्। तर इरानले चाहेमा अमेरिकी आक्रमणमा सहयोगी भएको ठान्ने जोर्डनजस्ता कुनै पनि राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाउन सक्छ।

    सन् २०१९ मा साउदी अरामकोका पेट्रोकेमिकल प्लान्टमा भएको विनाशकारी मिसाइल र ड्रोन आक्रमण (जसको जिम्मा इरान समर्थित मिलिसियालाई दिइएको थियो) ले साउदीहरू इरानी मिसाइलको अगाडि कति कमजोर छन् भन्ने देखाइसकेको छ।

    अमेरिकाका सबै अरब सहयोगी छिमेकीहरू अहिले अमेरिकी सैन्य कारबाहीको असर आफूहरूमाथि पर्ने हो कि भनेर स्वाभाविक रूपमा डराएका छन्।

    ५. खाडीमा माइन (बारुदी सुरुङ) बिछ्याएर इरानको बदला

    सन् १९८०-८८ को इरान-इराक युद्धदेखि नै यो विश्वव्यापी जहाज र तेल आपूर्तिका लागि सम्भावित खतराको रूपमा रहँदै आएको छ। त्यसबेला इरानले जलमार्गमा माइन बिछ्याएको थियो र बेलायती शाही नौसेनाले ती हटाउन मद्दत गरेको थियो।

    इरान र ओमान बीचको साँघुरो ‘स्ट्रेड अफ हर्मुज’ एक महत्त्वपूर्ण नाका हो। विश्वको करिब २०% तरल प्राकृतिक ग्यास (एलएनजी) र २०-२५% तेल तथा तेलजन्य उत्पादनहरू हरेक वर्ष यही नाका भएर जान्छन्।

    इरानले समुद्रमा छिटो माइन बिछ्याउने अभ्यास गरिसकेको छ। यदि उसले त्यसो गरेमा यसले विश्व व्यापार र तेलको मूल्यमा अवश्य असर पार्नेछ।

    ६. अमेरिकी युद्धपोत डुबाएर बदला

    खाडीमा तैनाथ एक युद्धपोतका अमेरिकी नौसेना क्याप्टेनले मलाई एकपटक भनेका थिए, उनी इरानको ’स्वार्म अट्याक’ अर्थात हुल बाँधेर गरिने आक्रमणबाट सबैभन्दा बढी चिन्तित छन्।

    यसमा इरानले एउटै वा धेरै लक्ष्यमा एकैपटक यति धेरै विष्फोटक ड्रोन र तीव्र गतिका टर्पेडो डुङ्गाहरू पठाउँछ जसलाई अमेरिकी नौसेनाको बलियो प्रतिरक्षा प्रणालीले पनि ती सबैलाई समयमै नष्ट गर्न नसक्ने स्थिति आउन सक्छ।

    खाडीमा परम्परागत इरानी नौसेनालाई लामो समयदेखि आईआरजीसीको नौसेनाले विस्थापित गरेको छ, जसका कतिपय कमाण्डरहरू शाहको पालामा डार्टमाउथमा तालिम प्राप्तसमेत थिए।

    इरानी नौसेनाका टोलीहरूले आफ्नो मुख्य शत्रु, अमेरिकी पाँचौँ फ्लीटको प्राविधिक फाइदाहरूलाई जित्न वा छल्नका लागि अपारम्परिक वा ‘असिमेट्रिक’ युद्धशैलीमा तालिम केन्द्रित गरेका छन्।

    कुनै अमेरिकी युद्धपोत डुब्नु र त्यसमा बाँचेका चालक दलका सदस्यहरू पक्राउ पर्नु अमेरिकाका लागि ठुलो अपमान हुनेछ।

    यो परिदृश्य असम्भव मानिए पनि, सन् २००० मा यमनको अडेन बन्दरगाहमा अल-कायदाको आत्मघाती हमलाले अरबौँ डलरको विध्वंसक जहाज ‘युएसएस कोल’ लाई ध्वस्त पारेको थियो, जसमा १७ अमेरिकी नौसेना मारिएका थिए।

    त्यसअघि, सन् १९८७ मा एक इराकी जेट पाइलटले गल्तीले अमेरिकी युद्धपोत ‘युएसएस स्टार्क’ मा दुईवटा एक्सोसेट मिसाइल प्रहार गर्दा ३७ नौसैनिकको मृत्यु भएको थियो।

    ७. सत्ताको पतन र अराजकता

    यो एकदमै वास्तविक खतरा हो र कतार तथा साउदी अरेबियाजस्ता छिमेकीहरूको मुख्य चिन्ता पनि यही हो।

    सिरिया, यमन र लिबियाले भोगेजस्तै गृहयुद्धको सम्भावनाका साथै, अराजकता र अन्योलको बिचमा कुर्द, बलुच र अन्य अल्पसंख्यकहरूले सत्ताशून्य अवस्थामा आफ्नो सुरक्षा खोज्दा जातीय तनाव सशस्त्र द्वन्द्वमा परिणत हुने जोखिम पनि छ।

    मध्यपूर्वका धेरैजसो देशहरू, विशेष गरी इजरायल, इस्लामिक गणतन्त्रको अन्त्य भएको देख्न चाहन्छन्। इजरायलले यसअघि नै क्षेत्रभरि इरानका प्रोक्सीहरूलाई भारी चोट पुर्‍याइसकेको छ र इरानको संदिग्ध आणविक कार्यक्रमबाट अस्तित्वको खतरा महसुस गर्छ।

    तर जनसंख्याको हिसाबले मध्यपूर्वको सबैभन्दा ठुलो राष्ट्र (करिब ९ करोड ३० लाख) अराजकतामा फसेको र मानवीय तथा शरणार्थी सङ्कट निम्तिएको कसैले हेर्न चाहँदैन।

    अहिलेको सबैभन्दा ठुलो खतरा भनेको राष्ट्रपति ट्रम्प, जसले इरानको सिमाना नजिकै यति ठुलो शक्ति जम्मा गरिसकेका छन्, उनले अब पछि हट्दा बेइज्जत हुने ठानेर आक्रमण गर्ने निर्णय गर्न सक्छन्। र, यसरी सुरु हुने युद्धको अन्त्य स्पष्ट हुनेछैन भने यसका परिणामहरू अप्रत्याशित र हानिकारक हुन सक्छन्।  बीबीसी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ