
काठमाडौँ । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ ।
राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ ।
यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ । अल-कायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह (एफएलए) ले देशका विभिन्न स्थानमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन् ।
उत्तरी सहर किडालबाट मालीको सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको विद्रोहीहरूले दाबी गरेका छन् ।
विद्रोही समूह एफएलएले किडाल सहर अहिले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेको छ । सरकारले देशभर उच्च सतर्कता अपनाएको छ भने राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।
सन् २०२० मा सैन्य कू मार्फत सत्ता कब्जा गरेको मालीको जुन्ता सरकारले सुरक्षा सुधार गर्ने वाचा गरे तापनि विद्रोही हिंसाले देश आक्रान्त बनेको छ ।
प्रतिक्रिया