• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपालसहित विश्वभर आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    289
    SHARES



    काठमाडौँ । श्रमिक अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षाको सन्देशसहित आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ।

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक सम्मेलनको निर्णयपछि सुरु भएको मानिन्छ। त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा विश्वभर यो दिवस मनाइँदै आएको छ।

    नेपालमा भने विसं २००७ सालको विराटनगर मजदुर आन्दोलनपछि श्रमिक दिवस मनाउन थालिएको इतिहास छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिन थालेको थियो।

    हाल नेपालमा श्रमिकको अवस्था, न्यूनतम ज्याला, सामाजिक सुरक्षा, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई औपचारिक दायरामा ल्याउने नीति तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा बहस र छलफल हुँदै आएको छ। श्रम कानुनको कार्यान्वयन र श्रमिक अधिकार संरक्षणबारे विज्ञहरूले धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ।

    सरकारले श्रमिक हितका लागि श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ कार्यान्वयनमा जोड दिएको जनाएको छ। श्रम बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कानुन उल्लंघन गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको पनि मन्त्रालयले बताएको छ।

    नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट आउने विप्रेषणको ठूलो योगदान रहेको छ। त्यसैले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र शोषणमुक्त बनाउने तथा विदेशबाट फर्किएका श्रमिकको सीप, अनुभव र पूँजीलाई स्वदेशमा उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति अघि सारेको छ।

    सरकारले हाल श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ। यसलाई प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने व्यवस्था रहेको छ।

    यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा लाखौँ श्रमिक आबद्ध भइसकेका छन्। औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारी प्रयास जारी छ।

    प्रविधिको तीव्र विकाससँगै विश्व श्रम बजारमा परिवर्तन भइरहेका बेला रोजगारी सिर्जना, सीप विकास र श्रमिकको सुरक्षा अहिले प्रमुख चुनौतीका रूपमा देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ