काठमाडौं । अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड ) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सूचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।
प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवत: आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको हो ।
गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।
प्रतिक्रिया