काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।
बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् ।
२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् ।
सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् ।
उनकै कार्यकालमा रामेछाप अस्पताल बागमती प्रदेशको दोसो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यस्तै उनले हरेक महिना राजधानीबाट ५ जना विशेषज्ञ चिकित्सक ल्याएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । अस्पताललाई आफ्नो कार्यकालमा बेरुजु शून्य पारेर उनले पारदर्शिता देखाएका थिए ।
प्रतिक्रिया