काठमाडौँ । सूचना प्रविधिको विकासले विश्वको बैंकिङ प्रणालीलाई आमूल परिवर्तन गरिरहेको वर्तमान समयमा नेपाल पनि डिजिटल बैंकिङको यात्रामा तीव्र गतिमा अघि बढिरहेको छ।
निजी क्षेत्रबाट पहिलोपटक स्थापित नबिल बैंकले डिजिटल प्रविधिलाई आत्मसात गर्दै ग्राहकहरूको जीवनशैलीलाई सहज बनाउने लक्ष्यसहित स्थापित गरेको “नबिल डिजिटल/फोन लोन” नामक अत्याधुनिक ऋण सेवा आज व्यस्त नागरिकहरूको आवश्यकता र समयसँग पूर्णतया मेल खाने सेवाको रूपमा स्थापित हुँदै गएको छ ।
सन् १९८४ मा ‘नेपाल अरब बैङ्क’ का रुपमा स्थापना भएको हालको नबिल बैङ्कले नेपालका बैङ्क तथा वित्तीय संस्थाको सेवाप्रवाहमै क्रान्ति ल्याइदिएको छ भन्दा फरक नपर्ला ।
उसो त नबिल बैङ्क नेपालमै कम्प्युटर प्रणाली ल्याउने पहिलो बैंक पनि हो । त्यति मात्रै हैन सन् १९८५ मा नेपालमै पहिलोपटक एटीएम सुरुवात गरेर सबैलाई दंग पारिदिने बैंक समेत नबिल बैङ्क नै हो।
यस्तै यस्तै रेकर्ड बनाउँदै आइरहेको नबिल बैंकले नेपालमा पहिलोपटक मोबाइल एपबाटै कर्जा प्रवाह गरिरहेको छ । सबै सेवा मोबाइल बैङ्किङबाटै होस् भन्ने लक्ष्यसहित सन् २०२० देखि यो प्रविधिमार्फत दुई लाख रुपैयाँसम्म ऋण दिन थालिएको एनबैङ्क प्रमुख प्रदिप नेपालले बताए ।
यो कर्जा पाउनका लागि कम्तिमा ६ महिनादेखि नबिल बैंकको ग्राहक बनेको भने हुनुपर्नेछ । नबिलको ग्राहक बनेको ६ महिना पुगेपछि बैंकले ट्रान्जेक्सन हिस्ट्री, आम्दानी र खर्चको मूल्यांकन गरेर कति कर्जा दिन सकिन्छ त्यसबारे मोबाइल एपमार्फत नै जानकारी दिने गर्दछ ।
यो सेवा अन्तर्गत ग्राहकले बैंकको शाखामा गएर फारम भर्ने झन्झटमा नपरीकनै बिना कुनै धितो केवल आफ्नो मोबाइलबाटै घरमै बसी केहि मिनेटमै कर्जा पाएर दंग छन् नबिन अधिकारी । काठमाडौँ बुढानिलकण्ठका अधिकारीले बैंकले दिएको यो सुबिधाले आफुलाई समस्या परेको बेला सजिलै समस्या समाधान गर्न सकिएको भन्दै खुसी व्यक्त गरे ।
इभी चार्जिङ्ग क्षेत्रमा काम गर्दै आएका अधिकारीले सञ्चारकेन्द्रसंग भने – ‘अहिलेको समयमा बिना कुनै धितो, बैंक धाउनुपर्ने र फारम भर्नुपर्ने झन्झटबिनै १५/२० सेकेन्डमै बैंकबाट लोन पाउनु भनेको ठुलो कुरा हो । धितो नै राखेर लोन लिने हो भने पनि एक/दुई दिन त लाग्छ नै ! तर नबिलले दिएको यो सेवा मलाई एकदम सजिलो र राम्रो लाग्यो।’
आकस्मिकरुपमा पर्ने सानातिना समस्यामा नबिलको यो सुबिधा निक्कै सहयोगी बनेको उनले बताए । लोन निकाल्न मात्रै नभइ तिर्न पनि उतिक्कै सजिलो रहेको उनको भनाइ छ ।
के हो नबिल डिजिटल/फोन लोन सेवा ?
नबिल बैंकले सुरु गरेको “Nabil Digital/Fone Loan” सेवा एक किसिमको पूर्व-स्वीकृत, छोटो अवधिको ऋण सुविधा हो, जुन nBank मोबाइल एप मार्फत प्रदान गरिन्छ। ग्राहकको आवश्यकता अनुसार यसमा दुई प्रकारका ऋण विकल्प छन् । पहिलो भनेको एक महिनाको ऋण (One-Month Based Loan) र दोस्रो भनेको EMI अर्थात् किस्तामा भुक्तानी हुने ऋण (EMI-Based Loan)
यो सुविधा खासगरी तलबधारी, साना व्यवसायी वा निश्चित आम्दानी भएका व्यक्तिहरूका लागि लक्षित गरिएको छ । जसले आकस्मिक खर्च, स्वास्थ्य समस्या, साना लगानी वा अन्य आवश्यकताका लागि तुरुन्तै ऋणको आवश्यकता पर्दा सजिलै प्रयोग गर्न सक्छन ।
यो ऋण कसरी लिन ?
डिजिटल लोन सेवा प्राप्त गर्न बैंकले केही स्पष्ट मापदण्डहरू तय गरेको छ। जसअनुसार सेवाग्राही नबिल बैंकको खातावाल हुनुपर्छ, राम्रो क्रेडिट इतिहास हुनुपर्छ। तलब वा भाडा आम्दानी अन्तर्गत लगातार ६ महिनासम्म कम्तीमा रु १०,००० वा सोभन्दा बढी रकम खातामा जम्मा भएको हुनुपर्छ।
जुनसुकै पेशामा भए पनि यदि तपाईंसँग निश्चित आम्दानी छ र त्यो नबिलको खातामा नियमित रूपमा आइरहेको छ भने तपाईं यो ऋण सेवा लिन योग्य हुनुहुन्छ।
ब्याजदर र किस्ताको व्यवस्था
नबिलको यो डिजिटल ऋणमा ब्याजदर “बेस रेट + ४.५%” कायम गरिएको छ। बैंकले आफ्नो आधार दर (Base Rate) नियमित अपडेट गर्ने भएकाले डिजिटल लोनको ब्याजदर पनि मासिक रूपमा परिवर्तन हुनसक्छ। तर तुलनात्मक रूपमा अन्य लघु ऋणहरूसँग यो ब्याजदर प्रतिस्पर्धी र सुलभ मानिएको छ।
ऋण तिर्न बैंकले किस्ताको विकल्पहरू दिएको छ । १ महिना, ३ महिना, ६ महिना, ९ महिना र १२ महिनासम्म आफ्नो आवश्यकता र क्षमताअनुसार सुविधा छान्ने विकल्प दिएको छ। साथै यदि ऋण लिएको रकम चाँडै तिर्न चाहेको खण्डमा अगावै भुक्तानीको व्यवस्था समेत बैंकले गरेको छ, त्यसमा कुनै अतिरिक्त शुल्क भने लाग्दैन। तर, यदि तोकिएको म्यादमा ऋण तिर्न नसकेमा ५ सय जरिवाना शुल्क लाग्ने व्यवस्था गरिएको प्रमुख नेपालले बताए ।
सुदूरका ग्राहकका लागि पनि सहज
यो सेवा खासगरी सहरमा मात्र सीमित छैन। देशका सुदूर गाउँघरका ग्राहकहरू, जहाँ बैंक पुग्न समय लाग्छ, त्यहाँ पनि मोबाइल र इन्टरनेटको माध्यमबाट यो सेवा उपयोग गर्न सकिन्छ। यसले वित्तीय पहुँच नपुगेका वर्गलाई समावेश गर्ने र डिजिटल वित्तीय सशक्तिकरणमा योगदान दिने अपेक्षा गरिएको छ।
डिजिटल बैंकिङमा सुरक्षाको सवाल निकै महत्वपूर्ण हुन्छ। यसलाई ध्यानमा राख्दै नबिल बैंकले nBank एपमार्फत हुने सबै कारोबारलाई एन्ड–टु–एन्ड इन्क्रिप्सन प्रविधिबाट सुरक्षित राखेको छ। ग्राहकको गोपनीयता, व्यक्तिगत विवरण र वित्तीय सूचनाको रक्षा बैंकको प्राथमिकतामा परेको छ।
भविष्यमा अझ विस्तार गर्ने योजना
नबिल बैंकले आगामी दिनमा डिजिटल ऋण सेवामा स्वरोजगार युवा, कृषक, घरेलु उद्यमी, तथा अनौपचारिक क्षेत्रका कामदारहरूलाई पनि लक्षित गर्ने योजना बनाइरहेको छ। साथै, डिजिटल इनकम स्कोरिङ, आर्टिफिसियल इन्टेलिजेन्समार्फत क्रेडिट मूल्यांकन जस्ता प्रविधिहरू प्रयोग गरी यो सेवा अझ स्मार्ट र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ।
डिजिटल बैंकिङको युगमा नबिल बैंकको डिजिटल ऋण सेवा नेपाली वित्तीय क्षेत्रको क्रान्तिकारी कदम हो। यसले ग्राहकलाई छिटो, सहज र पारदर्शी सेवा दिने मात्र होइन, बैंक–ग्राहक सम्बन्धलाई प्रविधिसँग जोड्ने पुलको काम गरेको छ।
प्रतिक्रिया