काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेटको आइतबार खेलिएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय एक रन बनाएकाे हाे ।
भारतका लागि दुई ब्याट्रले अर्धशतकीय पाली खेले । कप्तान हरमनप्रित कौरले ६६ रन बनाइन् । उनले केवल ४७ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरिन् । विकेटकिपरको समेत भूमिकामा रहेकी रिचा घोषले पनि अविजित ६४ रन जोडिन् ।
रिचा केवल २९ बलको सामना गरी एक छक्का र १२ चौका हिर्काइन् । ओपनर सफाली वर्माले पनि टोलीको खातामा ३७ रन थपिन् । स्मृति मन्धानाले १३ रन जोडिन् । यूएईका बलर कविसा एगोडेगले दुई तथा समाइरा धरणिधरका र हिना होचन्दानीले एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा भारत र यूएई दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यूएईको टोली आफ्नो पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया