काठमाडौँ । आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेशप्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल पनि हो ।
यसअघि मधेशप्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् ।
त्यसमध्ये दुईपटक त मधेशप्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेशप्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।
गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अनिलले एक सय २७ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका अनिलले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।
प्रतिक्रिया