• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    राज्यसत्ता, कम्युनिस्ट र आजका श्यामकर्णहरु

    133.5K
    SHARES

    पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो; त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व-मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत विश्वमा ठुल-ठुला सङ्घर्ष भएका छन् । हामीलाई थाहा छ, नूतन राज्यसत्ता प्राप्त गर्ने क्रान्तिकारी प्रक्रियामा बलिदान अनिवार्य हुन्छ । तिनमा आ-आफ्ना समयका महान् स्पार्टाकसहरूले बलिदानको अपूर्व कीर्तिमान कायम गर्दै आएका छन् । स्पार्टाकसहरू तिनै श्यामकर्णी हुन्, जहाँ लाखौँले महान् बलिदानको कोटा चुक्ता गरेका थिए ।

    जनयुद्धकालमा प्रचण्डको सेतो घोडाको चर्चा सुनिन्थ्यो, जसलाई पछिसम्म पनि मिडियाले पछ्याइहे । कुनै बेला प्रचण्डलाई ‘प्रचण्ड’ वा ‘अध्यक्ष’ भन्नु अपराध मानिन्थ्यो, ‘सीएम’ भन्नुपर्दथ्यो । ‘प्रचण्डपथ’ को व्याख्याताहरूको चुरीफुरीको के कुरा गर्नू ! त्यतिबेला ‘म त प्रचण्डको दाहिने हात’ भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । प्रचण्डको तस्बिर नछापिएको प्रकाशन सायदै थिए । कार्यकर्ता त्यो पनि कम्युनिस्ट पार्टीको, जसलाई हामी योद्धा, सहयोद्धा भन्न मन पराउँछौँ, त्यसमा पनि नेपालको, हैट यो भयानक विषय हो ! प्रचण्डहरूले श्यामकर्णी योद्धा-कार्यकर्तालाई मनमौजी तरिकाले अग्निकुण्डमा होमिदिएका थिए । श्यामकर्णी सम्पूर्ण शरीर सेतो तर कानचाहिँ कालो भएको उत्तम जातको घोडा हो । सांस्कृृतिक आवेगमा मानवजातिले त्यही श्यामकर्ण घोडा बन्ने चक्करमा हजारौँ वर्ष बिताएको छ । अश्वमेघ यज्ञको निमित्त राम्रो मानिने उत्तम जातको घोडा महाभारतकालीन राजा परिक्षितपछि कसैले अश्वमेघ गरेको कथ्य वा लेख्य भेटिँदैन । अश्वमेघ यज्ञ गरिने घोडाको प्रजाति नै सिद्धिएकोले त्यसपछि सो यज्ञ हुन नसकेको अनुमान लगाउन सकिन्छ । महाभारतको कथाअनुसार जम्मा आठसय श्यामकणर् घोडा जन्मिएका थिए । तिनै श्यामकर्णीहरु विभिन्न महाराजाका अश्वमेघ यज्ञमा मारिए ।

    यो दल र उ दलको के कुरा । यो नेता र ऊ नेताको पनि के कुरा । संसदीय फाँटका अधिकांशको एउटै मनसुवा देखिन्छ- आफ्ना कार्यकर्ताले बिजुलीको चम्काइ र आँखा झिम्क्याइमा काम फत्ते गरून् । सोच्नुपर्नेहरूले सोच्दैनन् कि कुनै दिन श्यामकण हरूले हात उठाए के होला ? जनता र नेता जोड्ने कार्यकर्तारूपी श्यामकर्ण पुल भाँच्चिए के होला ? के राजनीति एकाध मान्छेलाई अमिर बनाउने अभियान हो र ? हुँदा खाने र हुने खानेका बिचको यो विश्व-लडाइँको भोक, शोक र शोखका बिचको आयतन कति होला ? नेपाली समाजमा आज पनि एउटा द्वन्द्व छ- जनयुद्ध लडेको वा नलडेको भन्ने । जनयुद्ध लडेकोले आफूलाई अब्बल ठान्दछ र नलडेकोलाई हेप्छ । जनयुद्ध नलडेकोले पनि आफूलाई अब्बल ठान्दछ र लडेर आएकोलाई कम आँक्दछ । आज पनि माओवादीवृत्तमा यो मनोयुद्ध चलिरहेको छ । अन्तर्घुलन, सम्मिलन र भावनात्मक एकतामा गम्भीर समस्याका कारण माओवादीमा गुट-उपगुट संस्थागत हुँदै पटक-पटक विभाजनबाट गुज्रनुपर्यो । माओवादी आन्दोलन सच्चा कम्युनिस्ट र नयाँ मान्छे बनाउने प्रक्रिया पनि थियो । तर आज कतिपय अवस्थामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको कुरा गर्न पनि अनपयुक्तजस्तो हुन थालेपछि कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बन्नू ! कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बनाउनू !

    नेपाल यस्तो देश हो, जहाँ सङ्कटको घडीमा कालोबजारी उद्योगपतिहरूलाई सरकारद्वारा पाँचतारे सुविधा दिइन्छ तर निर्दोष उत्पीडित तथा श्रमजीवीहरूलाई झुट्टा मुद्दा लगाए जेल-हिरासतमा कोचिन्छ । यहाँ विभिन्न नाममा लिटरेचर फेस्टिभल चलाइन्छ, जहाँ प्रगतिशीलताको आबरणमा प्रगतिशीलताकै हुर्मत लिइन्छ । बालुवाटारमा बसेर देशको कार्यकारी प्रमुख भ्रष्टाचारविरुद्ध कविता लेख्छन् तर उनैले आफूवरिपरि छताछुल्ल भएको भ्रष्टाचारीको संरक्षण गर्छन् । यहाँ बाँकावीरदेखि भट्टेडाँडा आक्रमणको तस्बिर लिने वरिष्ठ फोटो पत्रकार अरुणदत्त पन्तहरू गुमनाम हुन्छन् । हामी फेसबुक हेर्न मरिहत्ते गरिरहेका हुन्छौँ तर त्यही फेसबुकले विश्वभरिका क्रान्तिकारी र साम्राज्यवादविरोधीहरूको साझा आवाजको संवाहक माओइस्ट रोडलाई ब्लक गरेको छ, उसले नेपाललगायत विश्वका क्रान्तिकारीहरूका समसामयिक गतिविधिलाई महत्वका साथ स्थान दिँदै आएको थियो । फेरि, नेपालका शासकहरू कत्तिसम्म उत्ताउला भने राजनीतिक विश्लेषक आहुतिले भनेजस्तै भर्खर भर्खर कराँते सिक्न लागेको सिकारुले मकैको पातमा किक हान्दै हिंडेजस्तो । आजका श्यामकणर्हरू संसदीय दलका तिनै नेताले मकैको पातमा किक हानेको हेरेर भरपुर मनोरञ्जन लिइरहेका छन् ।

    भनिन्छ, मौनतामा ठूलो शक्ति हुन्छ, कतिपय प्रश्नको उत्तर पनि मौनतामा नै हुन्छ । जनता समकालीन व्यवस्थाको अस्वीकृतिको मौनभावमा छन् । दोस्रो विश्वयुद्धपछिको सर्वाधिक चुनौतीपूणर् कोरोनापछि विश्वको आर्थिक केन्द्र फेरिँदै चीनको प्रभाव बढ्ने अनुमान गरिँदै छ । शासकहरू गुट-उपगुट बदलेर आफ्नो फासिवादी सत्ताको आयु लम्ब्याउन चाहन्छन्, जनता सिङ्गै व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छन् । ओली-प्रचण्डको नौटङ्की देखेर एकदिन चीन पनि हैरान हुनेछ । हुन त चीन र डबल नेकपा एकले अर्कोलाई उपयोग गर्ने नीतिमा देखिन्छन् । समकालीन विश्वमा भारतीय शासकको राजनीति बेइमानीपूणर्, कपटपूणर् र नौटङ्कीपूणर् देखिन्छ । राजनीतिक विश्लेषकहरूले भनेको सुनिन्छ- तत्कालीन एमालेको विभाजनबाट तत्कालीन माओवादीले लिएजस्तै विप्लवहरूले अहिलेको सत्तासीनहरूको अकर्मण्यताबाट राजनीतिक फाइदा लिन सक्नुपर्दछ । हामीले नेपालमा देशभक्तिपूणर् आन्दोलनको नयाँ शिराको विकास गर्नैपर्दछ । शासकहरूका विभिन्न प्रवृत्तिगत धारा भए पनि तिनका सत्ता उत्पीडित तथा श्रमजीवी जनताको धैर्यतामाथि नै टिकिरहेको छ । श्यामकणर्हरू जुर्मुराएको दिन शासकहरूको नवउदावादी विश्वव्यवस्थाको क्रूर साम्राज्यवादी जुवा धुजाधुजा हुनेछ ! बेइमानीहरूको जङ्गलमा केही समय मौन रहनु बेग्लै कुरा हो ।

    जनगायक जीवन शर्माको एउटा चर्चित गीत छ- ‘हिउँ फुटे हिमनदी, जनता जुटे जनसागर ।’ एकदिन त्यही जनसागरले जनताको रगत र हड्डी चुस्ने पुँजीवादी इन्जिनलाई सदाका लागि बन्द गरिदिनेछ । विश्वका अधिकांश देशले कोरोना कहरमा आफ्ना नागरिकलाई राहत बाँडिरहँदा नेपालले जनता बँचाउन केही पनि नगरेपछि मानिसहरू भन्न थालेका छन्- जनताले आफ्नो सुरक्षा आफैँ गर्नुहोला, सरकारले बचाउने भनेको कुर्सी मात्र हो । अहिले कतिपय नेताहरू कोरोनाबाट बँच्न जन्तर-मन्तर गर्न थालेका छन् । देशमा क्रिस्चियानिटीकरण बढ्दो छ । टोल्स्टोय भनेका थिए, “कुनै देशलाई बर्बाद पार्नु छ भने जनतालाई धर्मको नाममा लडाउनू ।” नेपालमा धर्मका नाममा जनताभन्दा बढी नेता लड्छन् । होलीवाइन बबन्डर सबैलाई थाहा छ । सामन्तले कानुन मिचेर लुट्छ, पुँजीवादले कानुन समातेर लुट्छ, कुरा यत्ति न हो । भनिन्छ- मरेको सपना नजन्मेका सपनाभन्दा खतरनाक हुन्छ, त्यो कुहिँदैन, गन्हाउँदैन तर शूल भएर गहिरो गरी दुखिरहन्छ । नेपालमा राष्ट्रवादको नारा जनतालाई ठग्ने सुनको कमन्डलु बन्दै आएको छ । आजका श्यामकणर्हरूको काँधमा वैज्ञानिक समाजवादी सामाजिक प्रणाली बनाउने कार्यभार छ ।

    नेपालमा पटक-पटक सत्ता हस्तान्तरण हुँदै आए पनि सारतः त्यो ‘काला गए, गोरा आए’ जस्तो मात्रै थियो । देश र जनताले नयाँ पार्टी र नयाँ नेता पाए तर रूपान्तरित नेता र पार्टी पाएनन् । अहिले डबल नेकपालाई दलाल संसदीय फासिवादी मात लागिरहेको छ । समकालीन नेपाली समाजमा कुशासन, भ्रष्टाचार, अमानवीयता र संवेदनाहीनताको कुनै सीमा नै रहेन । अमरसिंह थापाले दुश्मनको रगतले लतपतिएको सतलजमा पखालेको खुकुरी आज पनि आलै छ । सडकमा ओली सरकारविरुद्ध ‘इनफ इनफ’ को नारा लाग्न थालेको छ । ‘फूल फुल्ने बारम्बार मान्छे फुल्ने एकबार’ भनेझैँ ओली यतिबेला एन्टी इन्डियन सेन्टीमेन्टको क्याक्टस फूल फुलाउन जति मरिमेटेर लागे पनि अन्ततः उनी ‘श्रीमान् भूपति’ को चक्करमा रहेको कुरामा कुनै शङ्का छैन । ओलीसित विद्रोही किशोर-युवाहरू, हातभरि ठेला उठेका परिवर्तनप्रेमी श्रमजीवीहरू, स्वतन्त्रताप्रेमी बुद्धिजीवीहरू र सामाजिक क्रान्ति एवम् रूपान्तरणप्रेमी नारी समुदायको पक्षमा कुनै अग्रगामी परिकल्पना नै छैन । इतिहासको यस घडीमा ओली आजका श्यामकणर्हरूलाई घोडा बनाउने र बली चढाउने दिवासपना देखिरहेका छन् ।

    विश्लेषकहरू भन्छन्- नेपालमा निकै लामो समयदेखि राजनीतिक म्याच फिक्सिङ हुँदै आएको छ । अहिले ओली-प्रचण्ड त्यही प्रक्रियामा छन् । यता नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपालका विशेषतः राजनीतिक नेतृत्वलाई बिरालो र मुसा बनाएर खेलिरहँदा उता अमेरिकाबिनाको संसारको परिकल्पना गर्न थालिएको छ । अमेरिकामै ट्रम्पलाई अस्वीकार गर्न थालिएको छ । भारत नेपाललाई हिन्दूकरण, राजतन्त्रीकरण र भुटानीकरण गर्ने योजनमा छ । यता ओली ‘इन्डिया भाइरस’, ‘चाइनिज भाइरस’, ‘देवसभा’ र ‘बेसार’ प्रवचनमै दिन कटाइरहेका छन् । जसले जति शब्दजाल बुने पनि भेन्टिलेटरमा रहेको पुँजीवादलाई अब कसैले पनि बचाउन सक्तैन ! आजका श्यामकणर्हरू आफूविरुद्धको व्यवस्थाका लागि बलिदान दिन तयार छैनन्, अब उनीहरू लड्ने भनेको आफ्नै वर्गका लागि मात्र हो, आफ्नै लागि मात्र हो ।

    कतै पढेको थिएँ- जनयुद्ध परिचालन गर्न भारतीय गुप्तचर संस्था ‘रअ’ का तत्कालीन प्रमुख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय इन्डियन टिमलाई सहयोग गर्न, २०६२ जेठमा दिल्लीमा बसेर श्यामशरणको इन्डियन टोलीसँग जनयुद्ध विर्सजन गर्न र १२ बुँदे सहमतिको रूपरेखा बनाउन डा.बाबुराम भट्टराईको मुख्य भूमिका थियो । अपेक्षा छ, यसबारे यथाशीघ्र डा.भट्टराईले सत्य-तथ्य सार्वजनिक गर्नुहुनेछ । यतिबेला जनताले भन्न थालेका छन्- कमरेड विप्लव प्रतिबन्ध र जेल-हिरासत तोडेर आऊ । अग्रज राजनीतिज्ञहरू बेला-बेला ठट्टा गर्छन्- नेपालमा अब जद्रा पानवाला र मिठा पानवाला राजनीतिको कुनै औचित्य छैन ! नेता सामन्त बन्दै जाने र जनताले उनैको देवत्वकरण गर्दै जाँदा कहाँ पुगिएला ? क्रान्तिबिना क्रान्तिको परिकल्पना गर्ने आजका बुद्धिजीवीहरू यथार्थ धरातलमा कहिले उभिने ? महाभारतको युद्धमा दुर्योधन तलाउमा लुकेझैँ, जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी राष्ट्रपति ट्रम्प बङ्करमा लुकेझैँ ओली-प्रचण्डहरू पनि लुक्ने दिन त्यति टाढा छैन ।

    रुकुममा नवराजलगायत छजना युवाहरूको हत्या प्रकरण शासकीय एवम् जातीय अहङ्कारका कारण श्यामकणर्हरूमाथि हुँदै आएको पछिल्लो बर्बरता हो । नेपालमा यस्तै यस्तै बर्बर संस्कृति र सौन्दर्य मौलाउँदो छ । नेपालमा जनयुद्धले जात व्यवस्थामा आधारित सामन्ती व्यवस्थालाई एक चरण हल्लाए पनि त्यसलाई ढाल्न सकेन, बरू उल्टै प्रचण्ड-बाबुरामहरू आफैँ धर्मराउँदै ढले । डा.बाबुराम भट्टराईको हातबाट जनताका वास्तविक प्रतिनिधिहरू रहेको पहिलो संविधानसभाको विघटन भयो । अहिले प्रचण्ड-बाबुरामहरू उही जनविरोधी व्यवस्थाको रक्षक बनेर उभिएका छन् । कुनै पनि संविधान एउटाको चिहानमा जन्मिन्छ र अर्को चिहानमा मर्छ । निगम पुँजीवादले विभिन्न देशका लागि विभिन्न संविधान बनाइदिएका हुन्छन् । उसले विश्वभरका समकालीन संसदीय व्यवस्था, राजनीतिक दल र तिनका नेतालाई सञ्चालन गरिरहेको छ । अन्यायमा टिकेको व्यवस्थाले न्याय दिनै सक्तैन, न्याय नदिने व्यवस्थाबाट शान्तिको कल्पनै गर्न सकिन्न । त्यसैले अबका श्यामकणर्हरू लालझन्डा बोकेपछि सबै खत माफ दिने पक्षमा छैनन् ।

    विश्वले देखेको छ- कम्युनिस्ट पार्टीको हबेलीबाट चाउचेस्कु, गोर्वाचोभ र प्रचण्डहरू कसरी जन्मिन्छन् भन्ने कुरा ! यसकारण पनि राजनीतिक आन्दोलनसँगै सांस्कृतिक आन्दोलन र सांस्कृतिक आन्दोलनसँगै सांस्कृतिक रूपान्तरणको आवधिक खाका अनिवार्य हुनुपर्ने देखियो । समकालीन समाजमा अर्थतन्त्र, राजनीतिक पहिचान र सांस्कृतिक-सामाजिक परिचयका आधारमा हैसियत निर्माण गरिँदै आएको पाइन्छ । यही हैसियतले प्रत्येक घरमा अशान्ति मच्चाउँदै छ । यस्ता अशान्त घरहरू केको राजनीतिक पाठशाला बन्नू ! सातजनाको हातमा विश्वको आधा सम्पत्ति रहेको यतिबेला निजी सम्पत्ति उन्मूलन गर्दै समुदायलाई मालिक बनाउने कार्य कठीन त छ नै, तर असम्भव छैन । पुँजीवादी भूमण्डलीकरणका विरुद्ध समाजवादी भूमण्डलीकृत क्रान्ति अवश्यम्भावी बन्दै छ । निणर्ायक क्रान्ति तब हुन्छ, जब शान्तिका सबै मार्ग बन्द हुन्छन् । यो कुरा आजका श्यामकणर्हरूलाई राम्ररी थाहा छ ।

    यतिबेला पुँजीवादले हरेकलाई बजारीकरण गरिरहेछ । समाजमा धृष्टराष्ट्र र शकुनीहरू मात्र छैनन्, नयाँ नयाँ जुडासहरू पनि थपिएका छ । यतिबेला पुँजीवादको सारथि कमजोर बन्दै गएको त छ, तर समाजवादीहरूको पनि गतिलो सारथि देखिन्न । कुशल सारथिबिना कसरी युद्ध जितिएला र ! नेपालमा कम्युनिस्टले कम्युनिस्टलाई सबैभन्दा बढी दुःख दिइरहेका हुन्छन् । यिनका बिचमा रिस, डाहा, इष्र्या पनि बढी नै हुन्छ । यिनमा सकेसम्म एकले अर्कोलाई सिध्याउनेसम्मको खेल पनि हुन्छ । यहाँ आफ्नो गुटको रहेछ भने उसको हजार अपराध पनि माफी हुन्छ । भनिन्छ नि आफ्नाले दिएको घाउ गहिरो हुन्छ । जस्तो कि फलामले फलाम पिट्दा ठूलो आवाज आउँछ । यद्यपि क्रान्तिकारीहरूका लागि क्रान्तिको घाउ पारितोषिक हुन्छ, जसले निणर्ायक क्रान्ति गरेर विजयी बन्न प्रेरित गर्दछ । भोका जनतालाई सुनको थाली बाँड्ने आश्वासनको के औचित्य ? के समुद्र मन्थन गर्दा अमृत मात्र निस्केको थियो र ? आज श्यामकणर्हरू आह्वान् गरिरहेछन्- संसदीय भासमा जकडिएको कथित कम्युनिस्ट पार्टीरूपी प्रालिको सेल्सम्यान बन्नबाट विद्रोह गर ।

    वर्गसङ्घर्ष रूपान्तरणको अर्को नाम हो । वर्गसङ्घर्ष सच्चा कम्युनिस्टको जीवन हो । यही कारण सच्चा कम्युनिस्टहरूमा भाइब्रेसन भइरहेको हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धारका कम्युनिस्ट पार्टी र तिनका विभिन्न नेताका सकारात्मक-नकारात्मक बिम्ब पनि छन् । राजनीतिक विश्लेषकहरू भन्छन्- नेपालमा ‘महेन्द्रीय टाट्ना’ को रजगज बढ्दो छ । नेपालमा दूध नबिक्दा किसान सडकमा दूध पोख्छ तर सङ्घर्ष गर्दैन । नेपालमा ओलीजस्ता असक्षम र निर्लज्ज शासकहरूले आफूमाथि शासन थोपरिरहँदा पनि जनता उठ्दैनन् । नेपालमा दिनभर ओलीको विरोध गर्छन्, साँझ-बिहान उनै ओलीको दर्शन गर्न लाइनमा बस्छन् । दिउँसो चर्को-चर्को स्वरमा सामन्तवादको विरोध गर्छन्, रातमा लुकीलुकी छिमेकीको साँध मिच्छन् । नेपालका ‘कम्युनिस्ट’ बोलीमा किसान-मजदुरको कुरा गर्छन्, व्यवहारमा आफैँ पुँजीवादी बन्नतिर मरिहत्ते गर्छन् ।

    कम्युनिस्टलाई कम्युनिस्टीकरण र क्रान्तिलाई क्रान्तिकारीकरण गर्नु आजको आवश्यकता हो । कम्युनिस्ट पार्टीमा श्यामकणर्जस्ता अब्बल गुणले सम्पन्न योद्धा-कार्यकर्ताहरू रहँदासम्म क्रान्तिको सम्भावना जतिखेर पनि रहिरहन्छ । हिजो अरूको प्रख्यातीका लागि बलिदान दिन तयार श्यामकणर्हरू आज आफ्नै लागि बलिदान दिन तयार छन् । हिजो आफूहरू भर्याङ भएर अरूलाई सत्तामा पुर्याउन बलिदान दिने श्यामकणर्हरू आज आफू र आफ्नो वर्गलाई सत्तामा पुर्याउन बलिदानी भावनाद्वारा ओतप्रोत भएर जनक्रान्तिको महान् अभियानमा लामबद्ध छन् । यो नै आजका श्यामकणर्हरूको सर्वोच्च क्रान्तिकारी गुणधर्मिता, स्पष्ट वर्ग-पक्षधरता र क्रान्तिप्रतिको अटुट विश्वास हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ