• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    कार्यगत एकता र पार्टी एकतावारे: प्रचण्ड-बाबुरामहरु कहाँ चुके, क्रान्तिकारीहरुले अब के गर्ने ?

    10.6K
    SHARES



    कामको दौरानमा एजेण्डाको आधारमा विभिन्न समुहहरुवीच गरिने सहकार्यलाई कार्यगत एकता भनिन्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल साथै विभिन्न बिषयहरुमा संगठनले विभिन्न पक्षसँग कार्यगत एकता गर्न सक्दछ । पहिलो: कार्यगत एकतामा ईमान्दारिता अत्यन्तै महत्वपूर्ण कुरा हुन्छ। कार्यगत एकतामा के गर्ने, के नगर्ने भनेर आचारसंहिता निश्चित गरिएका हुन्छन । कार्यगत एकतामा सहभागी सबै संगठनहरुले आचारसंहिताको पुर्णरुपमा पालना गर्नुपर्दछ । आचारसंहिताको उलंघन भएमा सम्बन्धित पक्षलाई कार्यगत एकतावाट निस्काशन गर्नुपर्ने या कार्यगत एकता नै भंग गर्नुपर्ने स्थिति आउनसक्दछ ।

    एजेन्डा मिल्ने पक्षहरुसँग एजेण्डाको आधारमा कार्यगत एकता गरि संघर्षका कार्यक्रमहरु संचालन गरिरहनु क्रान्तिको निम्ति सकारात्मक कुरा हो । त्यसप्रकारको संयुक्त संघर्षहरुले क्रान्तिका आधार निर्माण गर्ने काम गर्दछन । सचेत तथा इमान्दार सोचले निर्माण गरिएको कार्यगत एकताले मित्र शक्तिहरुसँगको सम्बन्धलाई झन् सुदृढ गर्दछ । साथै कुशल कार्यगत एकताको नीतिले सहायक दुश्मनलाई क्रान्तिको पक्षमा ल्याउने या तटस्थ राख्ने र मुख्य दुश्मनलाई एक्ल्याएर प्रहारको केन्द्र उसैलाई बनाउने बातावरण निर्माण गर्दछ ।

    त्यसकारण कार्यगत एकताको नीति लचकदार हुनुपर्दछ।  तर पार्टी एकता सम्बन्धि नीति चाही दृढ हुनुपर्दछ। कार्यगत एकताले सांगठनिक एकताको आधार निर्माण गर्न सक्दछ । कार्यगत एकताको क्रममा विभिन्न संगठनहरुबीच कार्यशैली, कार्यक्रम, बिचार, दृस्टिकोण हुदै राजनीति र सिद्धान्तमा पनि एकरुपता कायम हुनसक्दछ र त्यसरी सांगठनिक एकतासम्म पनि हुने सम्भावना रहन्छ ।

    मार्क्सवादका अनुसार कुनै एक देशमा क्रान्तिकारीहरु धेरै हुन्छन तर क्रान्तिकारी संगठन एक भन्दा बढी हुन् सक्दैन, तथापि एउटै देशमा आफुलाई मजदुर, किसान र सर्वहारा वर्गको संगठन दावी गर्ने, आफुलाई सवभन्दा अव्वल दर्जाको क्रान्तिकारी संगठन दावी गर्ने संगठनहरुको कुनै कमि छैन । वास्तवमा ब्यबहारको कसीले नै को क्रान्तिकारी हो भनेर प्रस्टसँग देखाउछ ।  ब्यबहारको कसी भनेको कार्यदिशा, कार्यशैली, कार्यक्रम, संघर्षमा प्रकट हुने ब्यबहार नै हो । त्यसकारण को के हो ? क्रान्तिकारी या अवसरवादी ? मालेमावादी, अवसरवादी या प्रतिक्रियावादी ? चिन्न र चिनिनको निम्ति पनि कार्यगत एकताले निक्कै ठुलो मद्धत गर्दछ।

    दोस्रो: क्रान्तिकारीहरुको निम्ति सबभन्दा ठुलो कुरा क्रान्तिकारी सिद्धान्त हो।  क्रान्तिकारी सिद्धान्तमा सम्झौता गरेर कार्यगत एकता गर्नुहुदैन । साथै कार्यगत एकताको दौरानमा क्रान्तिकारी सिद्दान्त, बिचार, दृष्टिकोणसँग मेल नखाने गतिविधिहरु भएमा क्रान्तिकारीहरुले त्यसको बिरुद्ध संघर्ष गर्नुपर्दछ र त्यहाँ क्रान्तिकारी गतिविधिहरु संचालनमा जोड दिनुपर्दछ । त्यो सम्भव नभएमा अर्थात कार्यगत एकता मार्फत क्रान्तिकारी आन्दोलनमा चोट पुग्ने गतिबिधि बन्द नभएमा त्यसप्रकारको कार्यगत एकतालाई तोड्नुपर्दछ। त्यहाँबाट क्रान्तिकारीहरु बाहिरिनुपर्द्छ र फेरि नयाँ शिराबाट कार्यगत एकताको निम्ति पहल लिनुपर्दछ । किनकी क्रान्तिकारीहरुको कार्यगत एकता क्रान्तिको अधार निर्माणको निम्ति हो, क्रान्तिको आधार भत्काउनको निम्ति होईन । दुई या दुई भन्दा बढी पार्टी, संगठनहरुबीचको सांगठनिक एकतालाई पार्टी एकता भनिन्छ ।

    क्रान्तिको निम्ति क्रान्तिकारीहरुबीचको एकता अपरिहार्य आवस्यकता हो । तर पार्टी एकता सामान्य कुरा होईन, यो एउटा महत्वपूर्ण र जटिल प्रक्रिया हो । प्रयाप्त सुझबुझ र आवस्यक तयारीबिना गरिएको एकताले क्रान्तिलाई बर्बाद त बनाउछ नै त्यसको साथै झन् ठुलो फुट र विभाजन पनि पैदा गर्दछ । सिद्धान्तहीन र अवसरवादी प्रकारको एकतालाई कार्ल मार्क्सले एक बोरा ‘आलु’सँग तुलना गर्नुभएको छ । आलुको दाना बोराभित्र पनि बेग्लाबेग्लै अस्तित्वमा हुन्छन र बोराबाट बाहिर निकाल्यो भने छरपरस्ट नै हुन्छन । एकतालाई बुझ्नको निम्ति फुटलाई बुझ्नुपर्दछ फुट पहिले बिचार, दृष्टिकोणबाट हुन्छ, त्यसपछि संगठनमा हुन्छ ।

    काठमाडौँदेखि नेपालगञ्ज हिडेका दुई सहयात्रीमध्ये एकजनाले बुटवल पुगेर पुन: काठमाडौँ फर्कनको निम्ति पोखराको बाटो समात्यो, अर्को एकजना पुर्व योजना अनुरुप नै नेपालगञ्जतिर लाग्यो । अब भनौ बाटो कसले मोड्यो ? यात्राबाट को भाग्यो ? अबस्य बुटवलबाट पोखराको बाटो समात्ने यात्री नै यात्राबाट भाग्यो । अन्य सहयात्रीसँगै काठमाडौदेखि नेपालगञ्ज हिडेका प्रचण्ड-बाबुराम काठमाडौँ फर्कनको निम्ति बुटवलबाट पोखरा तिर लागे । हजारौ शहिद बेपत्ता योद्धाहरुको त्याग, बलिदानको जगमा महान जनयुद्ध अन्तिम बिजयको सन्निकट पुगेको वेला प्रचण्ड-बाबुरामहरुले बाटो बदलिदिए, क्रान्तिको महान यात्राबाट भागे। तत्पश्चात पार्टीमा बिभाजन अनिवार्य बन्यो।

    प्रचण्ड-बाबुरामहरुले दलाल संसदीय व्यवस्थालाई ध्वस्त गर्नको निम्ति त्यसका बिरुद्ध लडाई लडे, फेरि उनीहरु त्यही व्यवस्थामा फर्किए, तर उनीहरुसँगै दलाल संसदीय व्यबस्थाको बिरुद्ध लडाई लडेका क्रान्तिकारीहरु निरन्तर लडिरहेकाछन । यसरी प्रचण्ड-बाबुरामका बिचार, दृष्टिकोणमा बिचलन आएर पहिले बिचार, दृष्टिकोणबाट फुट भयो त्यसपछि संगठनमा फुट भयो । अझ यसो भनौ चुनवाङ बैठकको निर्णयले बिचारमा बिभाजन गरे पश्चात बालाजु बैठक, खरिपाटी भेला, पालुङ्टारर बैठकमा संघर्ष भयो र अन्तत बौद्ध भेलाले संगठनमा स्वभाविक बिभाजन गर्यो ।

    पार्टी एकताको सन्दर्भमा पनि ठिक त्यहि कुरा लागु हुन्छ । पार्टी एकताको निम्ति पहिले बिचार, दृष्टिकोणमा एकता, काम, कारवाहीमा एकता र त्यसपछि संगठनमा एकता हुन्छ । त्यसरी भएको एकताले पार्टी र क्रान्तिलाई मद्दत गर्दछ । पार्टी एकताको सन्दर्भमा लेनिन भन्नुहुन्छ “एकता एउटा ठुलो कुरा र ठुलो नारा हो, तर मजदुरहरुको लक्ष्यलाई चाहिने एकता मार्क्सवादीहरुको एकता हो । मार्क्सवादी र मार्क्सवाद बिरोधि तथा त्यसलाई बंग्याउनेहरुको बीचमा एकता होईन” पार्टी एकताको प्रसंगमा विभिन्न गलत प्रवृतिहरु देखा पर्दछन ।

    त्यसप्रकारको गलत प्रवृतिहरुदेखि क्रान्तिकारीहरु सधै सतर्क हुनुपर्दछ । प्रचण्ड प्रवृति, बादल प्रवृति र मानसिंह प्रवृतिहरु पछिल्लो चरणमा देखिएको पार्टी एकता सम्बन्धि अत्यन्तै गलत प्रवृतिहरु हुन् । क्रान्तिको निम्ति होईन पार्टी भित्रको शक्ति सन्तुलनमा आफ्नो तौल भारि बनाउनको निम्ति गरिने पार्टी एकता सम्बन्धि प्रवृतिलाई प्रचण्ड प्रवृति भन्दा अनुपयुक्त नहोला । यद्धपि ०४७ को पार्टी एकताले नेपाली क्रान्तिलाई एउटा उचाईमा पुर्यायो तर त्यो पार्टी एकता प्रक्रियामा पनि प्रचण्डको हकमा चाहि त्यही प्रवृतिले काम गरेको थियो भन्ने भनाई छ । ‘गोरु पछाडी, गाडा अगाडी’, कार्यकर्ता तान्ने, नेता फाल्ने ट्रिक’ भनेर त्यो एकताप्रति आलोचना पनि आएकै हुन् ।

    कथित शान्तिप्रक्रिया पश्चात नारायणकाजी समुहसँग प्रचण्ड पहलमा गरिएको एकताले पार्टी भित्रको अन्तरसंघर्षमा नकात्मक असर पर्यो, जसको कारण क्रान्तिकारी आन्दोलनलाई नै चोट पुग्यो । भनिन्छ त्यो एकता प्रचण्डको बिषेश योजनामा भएको थियो र त्यो योजनामा इमान्दार नेताहरु फस्न पुगे । त्यसपछिका सबै ध्रुविकरण या एकतामा प्रचण्ड त्यही योजना अन्तर्गत क्रियाशील रहे । पछिल्लो पटक एमालेसँगको एकतामा पनि प्रचण्ड को थियो भन्नेकुरा पछिल्लो घटनाक्रमले प्रस्टसँग देखाउछ । तत्कालिन एमालेभित्र केपी गुट, माधव गुट, झलनाथ गुट र बामदेव गुटकाबीचको चर्को अन्तरसंघर्ष लुकेको कुरा होईनन । एमालेसँग एकता पश्चात ति गुटहरुको लडाइबाट फाइदा उठाएर आफु भाले बन्ने प्रचण्ड प्लान नै तत्कालिन एमाले-माके एकताको कारक हो भन्दा ‘छोटी मुह बढी बात‘ हुदैन ।

    सिद्धान्त, बिचार, राजनीतिदेखि अचानक अलग्गिएर प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतको सरकारमा गएर व्यक्तिगत भौतिक सुख, सुबिधा र ऐस आराम प्राप्त गर्ने एक सुत्रिय योजना बनाएर सत्ताको नजिक रहेको पार्टीसँग एकता गर्ने प्रवृतिलाई वादल प्रवृति भन्दा बेठिक नहोला । बादलले मिलेरावाद (मन्त्रि मण्डलवाद) नै अहिलेको मार्क्सवाद हो भन्दै आफु र उनको निकट रहेका उनकै स्वभावसँग मेल खाने स्वभावका केहि व्यक्तिहरुलाई क्रान्तिकारी पार्टी र आन्दोलनदेखि अलग गरे । उनले आफ्नो अवसरवादी यात्रालाई सैदान्तिक जलपले छोप्ने प्रयास त गरे तर त्यो पर्याप्त भएन । कथित सैद्धान्तिक जलपभित्र नित्तान्त व्यक्तिगत स्वार्थ, ऐस आराम भोग विलासका रागहरु लुकेका थिए भन्ने कुरा अहिले उनको ब्यबहारले नाङ्गो बनाएकोछ ।

    बादलले क्रान्तिकारी पार्टीबाट अलग्गिएर पार्टी गठन गर्नुभयो र चार दिनको सम्क्षिप्त नाटक पश्चात उहाँको पार्टी प्रचण्डको पार्टीमा बिलिन भयो । सायद विश्व कम्युनिष्ट आन्दोलनमा ४ दिन मात्र पार्टी अध्यक्ष हुने व्यक्ति बादलजी नै हो र चार दिन मात्र आयु भएको पार्टी बादल जी कै पार्टी हो । वास्तवमा उहाँका ति सव नाटकका उद्देस्य के थिए ? चर्चा गर्नु आवस्यक छैन, सबका अगाडी छर्लङ देखिदैछन । कुनै दिन क्रान्तिकारी पार्टीको काठमाडौँ जिल्ला कमिटि अन्तर्गत एकजना डीसीएम कमरेड मानसिंह (नाम परिवर्तन) हुनुहुन्थ्यो । काठमाडौँ अन्तर्गत एउटा जबस उहाँको कार्यक्षेत्र थियो । बेलाबेला आर्थिक सवालमा उहाकोवारे गडबड रिपोर्ट सुनिन्थ्यो । जिल्ला पार्टीको सुक्ष्म निगरानीमा उहाँ हुनुहुन्थ्यो, सायद यो कुरा थाहा पाउनुभयो, उहाले पार्टी छोड्नुभयो ।

    लगत्तै उहाले ३,४ जना आफु जस्तै मान्छे जम्मा गरि बाँकी सबै कागजी किर्ते नाम राखेर एउटा अर्को माओवादी पार्टी बनाउनुभयो । मानसिं जी त्यो पार्टीको अध्यक्ष हुनुभयो । १,२ महिनाको दौडधुप पछाडी उहाँको पार्टी तत्कालिन माकेमा बिलय भयो, मानसिं जी माके पार्टीको पिबिएम बन्नुभयो । यो एउटा प्रतिनिधि घटना मात्र हो, नेपालको कम्युनिस्ट आन्दोलनको पछिल्लो चरणमा यो खालको प्रवृतिको बिगबिगी बढेको छ । यो बिगबिगीबाट क्रान्तिकारी धार पनि अछुतो छैन ।

    मलाई सम्झना छ, एकपटक चिया गफको बेला एउटा प्रसंगमा एकजना कमरेडले ठट्टा गरेर मलाई भन्नु भयो, ‘कमरेड अव एउटा पार्टी बनाऔ, तपाई अध्यक्ष, म महासचिव बनौ, केहि साथीहरुको स्थाई समिति बनाऔ त्यस्तैगरि पीबी, सिसि बनाऔ र केहि समय रमाईलो गरौ । त्यसपछि कुनै पार्टीसँग एकता गरौ, अनि तपाई र मेरा निम्ति स्थाई समिति दावी गरौ’, कमरेडको त्यो ठट्टाले नजिकको वास्तविकतामाथि सटिक प्रहार गरेको थियो र त्यो ठट्टा अत्यन्तै मार्मिक थियो ।

    सायद त्यसैले होला ति कमरेडसँग चिया गफ गर्दा प्राय: त्यो ठट्टाको याद आउछ । यसरी दुई चार जना बटुवाहरु बटुल्ने, पार्टीजस्तो बनाउने, एकता प्रक्रिया सुरु गर्ने र माथिल्लो पद प्राप्त गर्ने प्रवृतिलाई मानसिंह प्रवृति भन्दा बेठिक नहोला । पार्टी एकताको सन्दर्भमा यसप्रकारका गलत प्रवृतिहरुदेखि क्रान्तिकारी पार्टी संगठन सधै सचेत हुनुपर्छ।  यस प्रकारका गलत प्रवृतिहरुले पार्टी र क्रान्तिलाई नोक्सानी गर्दछन।

    प्रतिक्रिया