• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    स्मृतिमा कृष्ण सेन, जेलमा माइला लामा

    9.2K
    SHARES



    ओहो कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको पनि १८ वर्ष भइसकेछ ! जेठ १३ इच्छुकले बलिदान गर्नुभएको दिन । यही दिनको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद इच्छुकको स्मृति र सम्मानमा १८औँ सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । यो दिन नेपालको सांस्कृतिक आन्दोलनको समीक्षा गर्ने, सांस्कृतिक बलिदानको मूल्यलाई आत्मसात् गर्दै अग्रजहरूले देखाउनुभएको बाटोमा हिंडिरहन प्रतिबद्ध हुने र आफू पनि रूपान्तरित हुँदै सांस्कृतिक परिवर्तनकामी आकाङ्क्षा पूरा गर्न अग्रसर हुने दिन हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष जेठ १३ अर्थात् इच्छुकले सहादत प्राप्त गर्नुभएको यही दिनलाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । यस सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद इच्छुकलाई विशेष स्मृति र सम्मानका साथ हार्दिकतापूर्वक क्रान्तिकारी अभिवादन गर्दछौँ ।

    १८औँ सांस्कृतिक बलिदान मनाइरहेको यतिबेला नेपालको जनसाङ्गीतिक क्षेत्रका चर्र्चित जनकलाकार एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष माइला लामा जेलमा हुनुहुन्छ । तत्कालीन नेतृत्वले क्रान्तिको रातो झन्डालाई दोबाटोमा अलपत्र छाडेर हिन्द-महासागरको यात्रा तय गरेपछि त्यही रातो झन्डालाई कमरेड विप्लवले सगौरव उठाउनुभयो । माइला लामा त्यही रातो झन्डाद्वारा निर्देशित महान् यात्रामा अझ बढी कुशलतापूर्वक एकीकृत जनक्रान्तिमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्न थाल्नुभयो । सजातीयहरूले विजातीय रङ फेरेपछि नेपाली राजनीतिमा हुनु नहुनु हुन थाल्यो, त्यसको पछिल्लो कडी थियो कथित कम्युनिस्टको आबरणमा नेपाल कम्युनिस्ट पार्टीमाथिको राजनीतिक प्रतिबन्ध ! जसको शौर्य, समर्पण र बलिदानबाट जो–जो सत्तामा पुगे, उनै सत्तासीनहरूबाट देशभक्त-क्रान्तिकारी शक्तिमाथि हत्या, आतङ्क, गिरफ्तारीको श्वेतआतङ्क मच्चाइयो ।

    यहीक्रममा कथित समाजवादी सरकारले इच्छुकले नेतृत्व गर्नुभएको सङ्गठनका वर्तमान अध्यक्ष माइला लामालाई मध्यरातमा गिरफ्तार गरेर झुट्टा मुद्दामा जेलमा कैद गरिराखेको छ । यो नेपाली राजनीतिमा मात्र होइन, विश्व कम्युनिस्ट राजनीतिमा पनि भयानक र भद्दा विद्रूपीकरण हो । साथै, यतिबेला सामाजिक फासिवादी ओली सरकारले हेमन्तप्रकाश ओली, अनिल शर्मा विरही, उमा भुजेल, भरत बमलागायत दर्जनौँ केन्द्रीय नेतृत्वसहित हजारौँ नेता-कार्यकर्तालाई जेल-हिरासतमा कैद गरिराखेको छ । १८औँ सांस्कृतिक बलिदानको सन्दर्भमा जेल-हिरासतमा रहनुभएका समस्त आदरणीय तथा सहयोद्धा कमरेडहरूलाई क्रान्तिकारी अभिवादन गर्दछौँ ।

    रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुन जन्माएजस्तै नेपाली जनयुद्धले इच्छुक जन्माएको हो । नेपाली जनयुद्धमा इच्छुकसहित एक सय सत्तरी बढी संस्कृतिकर्मीले गौरवपूर्ण बलिदान प्राप्त गरिसक्नुभएको छ । यो बलिदान क्रान्तिकारी आस्था र निष्ठाका साथ महान् सपनाका लागि थियो । इच्छुक क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक बनेर उभिनुभएको छ । उहाँ क्रान्तिकारी आदर्श, निष्ठा र क्रान्तिकारी आशावादको कहिल्यै नभिन्ने दीप बन्नुभएको छ । पटक-पटक गिरफ्तारी, जेल र हिरासतको कहर काट्दै आउनुभएका इच्छुकलाई पछिल्लोपटक तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो । फासिवादी सत्ताद्वारा एक सातासम्म निर्मम यातना दिएर जेठ १३ गते उहाँको ह’त्या गरियो ।

    इच्छुकको सहादतपछि कतिलाई महान् विजयको अनुभूति पनि गरायो होला ! कतिले पदक र प्रमोसन पनि पाए होलान् ! कतिले बधाईको धाप पनि मारे होलान् ! कतिले गोहीको आँसु बगाए होलान् ! बाँचुञ्जेल राक्षसीकरण गर्ने र मरेपछि देवत्वकरण गर्ने समकालीन समाजको विशेषता भएझैँ जीवित छँदा इच्छुकका विरुद्ध मुट्ठी बजार्नेले पनि समवेदनाका पीरामिड बनाए होलान् तर यथार्थतः इच्छुकको हत्या सभ्यताकै हत्या थियो, कलमको हत्या थियो, आवाजविहीनहरूको आवाजको हत्या थियो, सिर्जनाका ह’त्या थियो र जनसाहित्यिक-जनसांस्कृतिक आदर्श नायकको ह’त्या थियो ।

    २०४६ सालको जनआन्दोलनमा इच्छुकको योगदान महत्वपूर्ण थियो । त्यसैबाट प्राप्त कथित बहुदलीय प्रजातन्त्रले इच्छुकको रगत घटघटी पिइदियो । मध्ययुगीन शैलीमा सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै देश र जनताको आस्था र विश्वासको धरोहर सांस्कृतिक योद्धा इच्छुकलाई हामी भौतिक रूपमा गुमाउन बाध्य भयौँ । इच्छुकलाई तत्कालीन डीएसपी विक्रमसिंह थापाले अत्यन्त निर्मम, अमानवीय र बर्बर यातना दिएका थिए । इच्छुकलाई अनेकन् प्रलोभन पनि दिइयो । प्रहरीहरू उहाँबाट पार्टीको गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उहाँले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नैअगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भन्नुभएको थियो, “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।”

    इच्छुकको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो । शब्द र कर्मको सुन्दर समायोजित इच्छुकको आदर्श वाक्य थियो- मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो । उहाँ समृद्ध, न्यायपूर्ण र सुन्दर भविष्यको क्रान्तिदूत हुनुहुन्थ्यो । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूर्ण गौरवको सगर चुमेको छ । उहाँको बलिदानीपूर्ण जीवनगाथाले क्रान्तिकारी पङ्क्तिमा ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । भनिन्छ– असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा चरम यातना दिइएको थियो ।

    मूच्र्छित भएपछि उहाँलाई तत्कालीन महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुश्मनका अँध्यारा कालकोठरीमा दुश्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्नुहुने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गर्नुभयो । उहाँको बलिदानले भावी पुस्ताका लाखौँ युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको देशभक्त, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाका नाभीस्थलमाथि प्रहार गरिएको गोली थियो । यतिबेला कोरोना महामारीपछि विश्वमा व्यवस्था-पद्धति, जीवनपद्धति, चिन्तनधारा, आर्थिक र प्राकृतिक जीवनसँग सम्बन्धित गम्भीर प्रश्न उठिरहेका छन् । आज सबैका अगाडि यक्ष प्रश्नहरू छन् ।

    शासक÷प्रशासकहरू गम्भीर प्रश्नहरूबाट भागिरहेका छन् । जसले यी यक्ष प्रश्नहरूको उत्तर दिन सक्छ, अबको विश्व पनि उसकै हुनेछ । हामीलाई विभिन्न समय र सन्दर्भहरूमा सांस्कृतिक सहयोद्धाहरूले पनि विभिन्न प्रश्न गरिरहेका हुन्छन्- आज इच्छुक हुनुभएको भए हाम्रो जनसांस्कृतिक आन्दोलन कस्तो हुन्थ्यो होला ! के लेख्नुहुन्थ्यो होला ! अभिव्यक्ति कस्तो हुन्थ्यो होला ! के गर्नुहुन्थ्यो होला ? आजका सांस्कृतिक आन्दोलनका हर्ताकर्ताहरूको अवस्था कस्तो हुन्थ्यो होला आदि इत्यादि ! निश्चय नै इच्छुकले आज धेरै कुरा देख्न पाउनुहुन्थ्यो- उहाँले राजनीतिक उथल-पुथल देख्नुहुन्थ्यो । बलिदानका असङ्ख्य पीरामिड र मूल्यहरूको स्खलन देख्नुहुन्थ्यो । आदर्शहरू ढलेको, बेपत्ता योद्धाहरू बेखबर भएको र सहिद परिवारको बिचल्ली भएको देख्नुहुन्थ्यो ।

    सपनाहरूलाई मारिएको, जनमुक्ति सेनालाई बजारको मालमा परिणत गरिएको र राष्ट्रियतालाई कुर्सीसित साटिएको देख्न पाउनुहुन्थ्यो । तत्कालीन जनयुद्धका नायक प्रचण्ड माओवादीको एक समूहसहित एमालेमा विलय हुँदै दलाल संसदीय व्यवस्थाका मतियार हुन पुगेको देख्नुहुन्थ्यो । इच्छुकको नाममा कसरी धन्दाहरू मौलाएको छ भन्ने कुरा स्वयम् इच्छुक आफैँले देख्न पाउनुहुन्थ्यो । माओवादी पार्टीमा विभाजन आएको, पछिल्लोपटक नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले क्रान्तिको रातोझन्डा उठाउनुभएको पनि देख्नुहुन्थ्यो । एकीकृत जनक्रान्तिलाई देख्न, छाम्न र महसुस गर्न पाउनुहुन्थ्यो । सामाजिक फासिवादी ओलीको कथित राष्ट्रवादको चौपल पनि छ्याङ्छ्याङ्क्ति देख्न पाउनुहुन्थ्यो, अझै देख्न पाउनुहुन्थ्यो यस्ता अरू धेरै धेरै कुरा !

    इच्छुक आज हुनुभएको भए विकृति-विसङ्गतिका विरुद्ध आगो ओकल्नुहुन्थ्यो; फन्डावाला र नौटङ्कीवालाहरूको सात्तो लिनुुहुन्थ्यो; असल जनसांस्कृतिक स्कुलिङलाई सदृढ गर्नुहुन्थ्यो, आलोचना-आत्मालोचनालाई व्यवस्थित पार्नुहुन्थ्यो । इच्छुक हुनुभएको भए हाम्रो साहित्यिक-सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिक मूल्य पनि माथि हुन्थ्यो ! पुँजीवादी शिविरमाथि समाजवादी शिविरको भयानक सांस्कृतिक-साहित्यिक धावा बोल्नुहुन्थ्यो ! आज पनि हाम्राअगाडि काला पहाडहरू उभिएकै छन् । सत्तामा राष्ट्रघाती दलालहरूको हालीमुहाली छ । राजनीतिमा जस्तै सांस्कृतिक फाँटमा पनि गम्भीर चुनौतीहरू रहेका छन् । इच्छुक सिर्जनात्मक हस्तक्षेप र रूपान्तरणमा जोड दिनुहुन्थ्यो । देशको राष्ट्रिय अस्मिता, स्वत्व र स्वाभिमान गम्भीर खतरामा परेको बेला सच्चा र देशभक्त क्रान्तिकारी स्रष्टाहरूको खुबै अभावको महसुस हुँदो रहेछ । आज जनताको पक्षमा बोलिदिने, लेखिदिने, प्रचार गरिदिने मानिसहरू कम कम हुँदै गएका छन् । आजका अधिकांश मानिस आत्म-प्रशंसाको गीत गाइरहेका छन् ।

    इच्छुकले हामीलाई क्रान्तिकारी संस्कृतिकर्मीहरूले सत्य, शिव र सुन्दरलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वैज्ञानिक समाजवाद र साम्यवादको उदात्त आदर्शसितजोड्नुपर्ने कुरा सिकाउनुभएको छ । इच्छुकमा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको गहिरो प्रभाव पाइन्छ । नेपालका जनपक्षीय लेखक–साहित्यकार एवम् कलाकर्मीहरू चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिबारे परिचित छन् । माओले येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचनद्वारा कला-साहित्यका क्षेत्रमा प्रचलित गलत दृष्टिकोणको चिरफार गर्दै लेखक-कलाकारहरूलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण अपनाउन जोड दिनुभएको थियो । जसरी कुनै पनि व्यक्तिले आफ्नो पुनःसंस्कार नगरीकन आम जनताको मुक्ति र क्रान्तिका निम्ति सुयोग्य बन्न र यथेस्ट सहयोग गर्न सक्दैन; त्यसरी नै सिद्धान्तलाई जीवन-व्यवहार नउतारीकन रूपान्तरणको काम फलशाली र बलशाली हुन सक्तैन ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रको नेपालीभूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विशेषतः भारतीय साम्राज्यवादबाट अत्यन्त अस्वाभाविक र बहुलट्ठीपूर्ण प्रकृतिका प्रतिक्रियाहरू आइरहेका छन् । भारतका लब्धप्रतिष्ठित व्यक्तिहरूले पनि ‘भारतले माओवादीलाई ठूलो सहयोग गरेको’, ‘शक्ति-सत्तामा पुर्याएको’ र ‘अहिले ठूलो पछुतो भइरहेको’ जस्ता टिप्पणी गरिरहेका छन् । यसमा हाम्रो गम्भीर असहमति र आपत्ति रहेको छ । प्रचण्ड-बाबुराम प्रवृत्ति र प्रभृत्तिले हजारौँ होनाहार नेपाली छोराछोरीहरूको बलिदानको जगमा निर्मित जनसेना, आधारइलाका, जनसत्ता, जनकम्युन, जनसंस्कृति, जनराजनीतिलगायत सम्पूर्ण उपलब्धिलाई तिनका प्रभुका पाउमा चढाएकै आधारमा यति गम्भीर आरोप लगाइनु ठूलो अन्याय र महान् सहिदहरूप्रति घोर अपमान हुन्छ ।

    जनयुद्ध भएको थिएन भने आजको दिनमा पनि ओलीहरू ‘श्रीमान् गम्भीर’ गाइरहेका हुन्थे । जनयुद्ध मालेमावादको पथपदर्शनका साथ नेपाली जनताको शौर्य, साहस, कला र कुर्बानीमा उठेको जनक्रान्ति थियो । अहिले पनि जनताको त्यो जनक्रान्ति एकीकृत जनक्रान्तिको रूपमा अघि बढिरहेको छ । एकीकृत जनक्रान्ति जनयुद्धको नयाँ संस्करण थियो र हो, अन्यथा ओली-प्रचण्डहरूले एकीकृत जनक्रान्तिकर्मीहरूमाथि राजनीतिक प्रतिबन्ध किन लगाउँथे र ! किन नेता–कार्यकर्ता गिरफ्तार गरेर जेल-हिरासत भर्थे र ! कवि, लेखक र साहित्यकारहरूलाई अन्धाधुन्ध पक्राउ गरेर किन थुन्थे र ! इन्काउन्टरका नाममा सिधै गोली हानेर कुमार पौडेलहरूलाई मार्थे र !

    यतिबेला इच्छुकका स्वप्नहन्ताहरूले पनि इच्छुककै नाममा सांस्कृतिक बलिदान दिवसको नौटङ्की गरिरहेका छन् । जनताले स्वाधीनता र देशले स्वतन्त्रता खोजिरहेको यतिबेला जनप्रिय कलाकार झुट्टा मुद्दामा जेलमा कुँजिनुपरेको छ । दलाल तथा सामाजिक फासिवादी सत्ताले जनताका सच्चा हिमायती क्रान्तिकारीहरूलाई जति थुने पनि उहाँहरूको देशभक्ति र क्रान्तिकारितालाई कमजोर बनाउन सक्नेछैन । आज पनि राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दा ज्यूँकात्यूँ छ । देशमा प्रतिक्रान्ति मात्र भएको छैन, नालायक शासकहरूका कारण देश साम्राज्यवादीहरूको क्रीडास्थल बन्दै गएको छ । कोभिड १९ ले विश्व मानव–जीवनलाई नै चुनौती दिएको यतिबेला कोरोनाबाट नागरिकलाई बचाउन लाग्नुको सट्टा र मन्त्रीहरू यस्तो मानवीय सङ्कटको बिचमा पनि भ्रष्टाचार गर्न तल्लीन छन् ।

    ठीक यही बेलामा फासिवादी ओली सरकार ढल्ला-ढल्लाजस्तो, सत्तारुढ पार्टी डबल नेकपा पनि फुट्ला-फुट्लाजस्तो पनि भयो । जनतामा डबल नेकपा र ओली सरकारप्रति चरम असन्तुष्टि चुलियो । यसबेला फासिवादी ओलीले लकडाउन र नयाँ नक्साको वैसाखी टेक्दै अमेरिकी सैन्य रणनीति एमसीसीको चौपल नचाउन थालेका छन् । ठीक यही बेला प्रतिगामी-पुनरुत्थानवादी तत्वले टाउको उठाउने कोसिस पनि गर्दै छ । हामीले सबै किसिमका जनविरोधी, राष्ट्रविरोधी र प्रतिगामी तत्वहरूको मुकाविला गर्दै आफ्ना सिर्जन, चिन्तन तथा कर्ममा क्रान्तिकारी मसाल सल्काउन आवश्यक छ । हामीले इच्छुकको आदर्श र जनसंस्कृतिकर्मीबिचको अन्योन्याश्रित सम्बन्धलाई सुदृढ गर्नैपर्दछ । अतः समवेत स्वरमा भनौँ- सांस्कृतिक बलिदान दिवस जिन्दावाद ! महान् सांस्कृतिक सहिदहरू लाल सलाम !

    प्रतिक्रिया