काठमाडौँ । संघीय संसद्अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बुधबार बस्ने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार गर्ने प्रतिवेदनका विषयमा छलफल हुने कार्यसूची छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बोलाइएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ।
यसअघि मंगलबारका लागि तय भएको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो। आजको बैठकमा शिक्षामन्त्री र मन्त्रालयका सचिवलगायतलाई छलफलका लागि बोलाइएको छ।
यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ। बैठकमा समितिका पूर्वसभापतिसँग राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया