• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने

    124
    SHARES



    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ।

    नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको हो।

    बाढीका कारण बालबालिकाले अभिभावक गुमाएर भविष्य अन्योलमा पर्न नदिन नगरपालिकाले तत्कालै २५ लाख रुपैयाँको बाल संरक्षण कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। उक्त कोषमार्फत पीडित बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षालगायत आवश्यक व्यवस्थापन गरिने नगर प्रमुख कार्कीले जानकारी दिए।

    यसका लागि नगर प्रमुख कार्कीको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ। समितिको उपसंयोजकमा उपप्रमुख शान्ता थापा रहनेछन्। समितिमा प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, शिक्षासँग सम्बन्धित व्यक्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

    समितिले आगामी बुधबारसम्म बाढीबाट अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गर्नेछ। साथै, वास्तविक रूपमा सहयोग आवश्यक रहेका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण र शिक्षाका लागि सम्बन्धित स्थानीय तह, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नेछ।

    ‘बालबालिकालाई अभिभावकविहीन महसुस हुन दिँदैनौँ’

    नगर प्रमुख उपेन्द्र कार्कीले विपद्को समयमा अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। उनले नगरपालिकाले तत्काल २५ लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिँदै देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, व्यवसायी, संघसंस्था तथा सहयोग गर्न चाहने सबैलाई बालबालिकाको भविष्य निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेका छन्।

    नगर प्रमुख कार्कीले भने, “बाढीले अभिभावक गुमाएका बालबालिकालाई अब उनीहरू एक्लै छन् भन्ने महसुस हुन दिँदैनौँ। उनीहरूको शिक्षा, संरक्षण र भविष्यका लागि कागेश्वरी मनोहरा नगरपालिका अभिभावकको भूमिकामा उभिन्छ।”

    उनले यो काम नगरपालिकाको मात्रै प्रयासबाट सम्भव नहुने भन्दै सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई बाल संरक्षण कोषमा जोडिन आग्रह गरेका छन्। “हामीले २५ लाख रुपैयाँबाट कोष सुरु गर्दैछौँ। तर बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न अझ ठूलो स्रोत आवश्यक पर्न सक्छ।

    त्यसैले सबै सहयोगी मनहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछु,” कार्कीले भने। उनका अनुसार सहयोग रकम पारदर्शी रूपमा पीडित बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा खर्च गरिनेछ।

    उद्धारदेखि पुनःस्थापनासम्म नगरपालिकाको साथ

    भोटेकोशी बाढीपछि कागेश्वरी मनोहरा नगरपालिकाले उद्धार तथा मानवीय सेवाका लागि आफ्नो एम्बुलेन्स र शववाहन तत्काल प्रभावित क्षेत्रमा पठाएको थियो। त्यस्तै, नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ७५ लाख ५५ हजार ५७५ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ।

    बाढीबाट प्रभावित बालबालिकाको संरक्षणका लागि पछिल्लो निर्णयलाई भने नगरपालिकाले आफ्नो मानवीय दायित्वको अर्को महत्वपूर्ण कदमका रूपमा अघि बढाएको छ। नगर प्रमुख कार्कीले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको जीवनमा शिक्षा र सुरक्षित भविष्यको अवसरबाट वञ्चित हुन नदिन नगरपालिका निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    विनाशकारी बाढीमा सयौं बालबालिकाले बाबुआमा गुमाएका छन् । सरकारको प्रारम्भिक विवरणअनुसार ३२ हजार बालबालिका बाढीबाट प्रभावित भएका छन् । हाल १२ सयभन्दा बढी बालबालिकालाई रसुवा, नुवाकोट र धादिङका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। ती मध्ये बाढीमा कम्तीमा १ सय २ बालबालिकाले आमाबुबा गुमाएको प्रारम्भिक अनुमान छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ