काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यससँगै विभिन्न स्थानमा गएको पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ।
नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी र पहिरो प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ३८९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा १३७ वटा फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको छ।
बाढी तथा पहिरोका घटनामा परी हालसम्म ४६६ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचार तथा अन्य आवश्यक व्यवस्थाका लागि सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन ८ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी तथा पहिरोपछि १८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीसहितका सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्। साथै सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया