काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लाबाट अहिलेसम्म ९५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान खुल्न नसकेका २० जना छन्।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनासहित ३३ जनाको शव भेटिएको छ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक गरी ५ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकासहित ११ जनाको शव भेटिएको प्रहरी विवरणमा उल्लेख छ।
६३ जना घाइतेको उपचार जारी
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जनाको उपचार भइरहेको छ।
त्यसैगरी नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जना घाइते उपचाररत रहेको प्रहरीले जनाएको छ।
२८ प्रहरी सम्पर्कविहीन
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका २८ जना प्रहरीसमेत सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट ८ जना, स्याफ्रुबेँसीबाट ३ जना, मैलुङबाट ५ जना तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कमा आएका छैनन्।
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा बेपत्ताको अवस्था पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया