• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मापदण्ड सुधारका लागि काठमाडौंका होस्टेलहरूलाई १ महिने अल्टिमेटम, नमाने शिलबन्दी गरिने

    259
    SHARES



    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

    होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएको हो ।

    पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना र शिलबन्दी समेत गरिएको छ ।

    होस्टेलभित्रै झडप भई विद्यार्थीको मृत्युसमेत भएको, सरसफाइ र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितलो रहेको भन्दै प्रशासनले सबै निजी होस्टेल सञ्चालकलाई एक महिनाभित्र तोकिएको २१ बुँदे व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    प्रशासनले जारी गरेको सूचनाअनुसार अब सबै होस्टेलहरूले तोकिएको निकायमा अनिवार्य रूपमा दर्ता एवम् नवीकरण गर्नुपर्नेछ भने लाग्ने शुल्क र दररेट सबैले देख्नेगरी पारदर्शी रुपमा प्रकाशन गरी सोहीअनुसार मात्र रकम लिनुपर्नेछ ।

    त्यसैगरी, होस्टेलमा बस्ने विद्यार्थी र सञ्चालकबीच अनिवार्य सम्झौता हुनुपर्ने र अन्य व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरेको भए सञ्चालकले घरधनीसँग पनि अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य स्थानको निगरानीका लागि अनिवार्य रुपमा सीसीटीभी जडान गर्नुपर्नेछ ।

    होस्टेलमा चौबिसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्नेछ भने सञ्चालक, वार्डेन र होस्टेलमा बस्ने सम्पूर्ण विद्यार्थीको अद्यावधिक व्यक्तिगत विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

    यसका साथै, होस्टेलभित्रको आन्तरिक सुरक्षा मजबुत बनाउँदै कुनै पनि प्रकारको लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण बन्देज लगाउन प्रशासनले कडा निर्देशन दिएको छ ।

    पूर्वाधारका हकमा महिला र पुरुष दुवैका लागि सञ्चालनमा रहेका होस्टेलहरूले अनिवार्य रूपमा छुट्टाछुट्टै कार्यालय र आवास भवनको व्यवस्था गर्नुपर्नेछ । प्रत्येक कोठाहरू फराकिलो र पर्याप्त हावा–प्रकाश छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष हुनुपर्ने तथा शुद्ध पिउने पानी, बिजुली र इन्टरनेटको वैकल्पिक व्यवस्थासमेत गरिएको हुनुपर्नेछ ।

    होस्टेलको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्नेछ भने आपत्कालीन अवस्थाका लागि ‘फायर एक्स्टिंगुइसर’ र प्राथमिक उपचारका सामग्री अनिवार्य राख्नुका साथै आपत्कालीन सम्पर्कका लागि सरकारी निकायका फोन नम्बर सबैले देख्ने गरी टाँस्नुपर्नेछ ।

    होस्टेलमा बस्ने विद्यार्थी एवम् व्यक्तिहरुलाई मानवीय व्यवहार गर्दै सुरक्षा एवम् मर्यादापूर्ण वातावरण तयार गर्नुपर्ने र विद्यार्थीले पनि मर्यादित र अनुशासित व्यवहार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    होस्टेल रहेको स्थान वरपरका छरछिमेकीलाई बाधा व्यवधान हुने गरी होहल्ला गर्न नपाइने व्यवस्था मिलाउन सञ्चालकलाई भनिएको छ । साथै, विद्यार्थीलाई समय–समयमा मनोरञ्जन गराउनुका साथै मर्यादा तथा अनुशासन कायम राख्न महिनामा कम्तीमा एकपटक प्रशिक्षणको समेत व्यवस्था गर्नुपर्नेछ ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले सूचनामा तोकिएको एक महिनाको अवधिमा यी सम्पूर्ण मापदण्ड पूरा नगर्ने निजी होस्टेल सञ्चालकहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ