• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    ६७ करोडमा बिक्री भयो सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी

    544
    SHARES



    न्यूयोर्क । सन् १९५८ को फिफा विश्वकप फाइनलमा ब्राजिलका महान् फुटबलर पेलेले लगाएको जर्सी न्यूयोर्कमा आयोजित सोधबीज कम्पनीको लिलामीमा ४.९ मिलियन अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैंया) मा बिक्री भएको छ ।

    यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो । यसअघि सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा अर्जेन्टिनाका डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७.१ मिलियन पाउन्ड (करिब एक अर्ब ३१ करोड नेपाली रुपैंया)मा बिक्री भएको थियो ।

    पेलेको उक्त जर्सीका लागि पाँचभन्दा बढी इच्छुक खरिदकर्ताबाट १० वटा बोलपत्र परेका थिए। यससँगै यो लिलामीमा बिक्री भएको पेलेको सबैभन्दा महँगो संग्रहणिय वस्तु बनेको छ ।

    यही जर्सी सन् २००४ मा भने १ लाख ५ हजार ६ सय अमेरिकी डलर (७० हजार ५०५ पाउन्ड) मा बिक्री भएको थियो । पेलेले सन् १९५८ को विश्वकप फाइनलमा आयोजक स्विडेनविरुद्ध १७ वर्षको उमेरमा दुई गोल गर्दै ब्राजिललाई विश्वकप जिताएका थिए । त्यो उनको तीनवटा विश्वकप उपाधिमध्ये पहिलो थियो ।

    उनी आजसम्म पनि विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानका धनी छन् । सोधबीजका खेल रणनीति तथा विकास प्रमुख ब्रेन्डन हक्सले भने, ‘आजको नतिजाले सर्वकालीन महान् फुटबलरमध्ये एक पेलेको अमिट विरासतलाई पुनः प्रमाणित गरेको छ ।’

    उनले थपे, ‘यो जर्सी फुटबल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एकको सम्झना मात्र होइन, पेलेलाई विश्वव्यापी खेलकुद आइकन बनाउने ऐतिहासिक क्षणसँग प्रत्यक्ष रूपमा जोडिएको अमूल्य वस्तु पनि हो ।’

    बिहीबार आयोजित ‘द ब्यूटिफुल गेम’ लिलामीमा अन्य धेरै ऐतिहासिक फुटबल सामग्री पनि बिक्री भए । सन् १९८६ को विश्वकपमा म्याराडोनाले कप्तानी गर्दा तथा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको कप्तानको आर्मब्यान्ड ५ लाख १२ हजार अमेरिकी डलर (३ लाख ८० हजार पाउन्ड) मा बिक्री भयो ।

    त्यस्तै, सन् २०१७ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाले पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध ऐतिहासिक ६–१ को पुनरागमन जित हासिल गर्दा लियोनेल मेस्सीले लगाएको जर्सी २ लाख १७ हजार ६ सय अमेरिकी डलर (१ लाख ६१ हजार ४८२ पाउन्ड) मा बिक्री भयो ।

    यस्तै, सन् २००२ को विश्वकपमा इंग्ल्यान्डका लागि आफ्नो ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्दा डेभिड बेकह्यामले लगाएको जर्सी ५१ हजार २ सय अमेरिकी डलर (३७ हजार ९९६ पाउन्ड) मा बिक्री भएको छ । बीबीसी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ