काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले ओलीको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका हुन्।
बिहीबार आयोगको हरिहर भवन, पुल्चोकस्थित कार्यालयमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर बर्तौलाले २०८२ साल भदौ २३ र २४ गतेका घटना सम्बन्धी आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै उक्त सिफारिस सच्याउन माग गरेका हुन्।
निवेदनमार्फत आयोगसमक्ष यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
यसका साथै, समितिको प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको, त्यस्तो निर्णय गर्नुका कारण र आधारसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमा माग गरिएको छ।
यदि यस विषयमा आयोगले थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सबै सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमार्फत माग गरिएको बर्तौलाले जानकारी दिएका छन्।



प्रतिक्रिया