काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। परिषद्ले आयोगका दुई रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बाको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो। सिफारिस गरिएका नामहरू अब संवैधानिक प्रक्रियाअनुसार संसदीय सुनुवाइलगायतका प्रक्रिया पूरा भएपछि नियुक्तिको चरणमा जानेछन्।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूमाथि पर्याप्त छलफल नगरी सिधै सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।
उनले भविष्यमा संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्दा उम्मेदवारबारे पर्याप्त छलफल गरेर मात्र निर्णय गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
साथै, सरकार र विपक्षीबीच देखिएको संवादहीनताको अवस्था अन्त्य गर्दै नियमित राजनीतिक संवादलाई निरन्तरता दिनुपर्ने धारणा पनि उनले बैठकमा राखेका थिए।
प्रतिक्रिया