लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटमाथि आफ्नो धारणा राख्नेछन्।
छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ।
त्यसैगरी, मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्नेछन्।
प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको थियो। सोही बजेटमाथि प्रदेशसभामा आजदेखि औपचारिक छलफल प्रारम्भ हुन लागेको हो।
प्रतिक्रिया