काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ।
असार ५ र ६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।
समितिमा केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय समिति सदस्य, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्य, विभिन्न विभागका प्रमुख, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, संघीय तथा प्रदेश सांसद तथा भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्। आवश्यकताअनुसार केन्द्रीय कार्यसम्पादन समितिले थप उपसमितिहरू गठन गर्ने निर्णय पनि गरेको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकले केन्द्रीय निर्वाचन समितिबाट प्रस्तुत सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ।
राप्रपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। सो अवधिभित्र अधिवेशन सम्पन्न गरेका जिल्लाहरूले मात्र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।
त्यस्तै, असोज १५ गतेदेखि २४ गतेभित्र सातै प्रदेशका प्रदेश अधिवेशन सम्पन्न गरिनेछन्। सक्रिय सदस्यता वितरण अभियान पनि भदौ मसान्तसम्म सञ्चालन गरिने र उक्त अवधिसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्रै महाधिवेशन प्रतिनिधिका मतदाता तथा उम्मेदवार बन्न योग्य हुनेछन्।
यसैगरी, कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टी विधानअनुसार सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। चयन भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोट गर्दा युवाको सहभागिता अनिवार्य रूपमा सुनिश्चित गरिने राप्रपाले जनाएको छ।
बैठकले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले अवलम्बन गर्दै आएको नीति, विचार र सिद्धान्तको सान्दर्भिकता अझ बढेको निष्कर्ष निकालेको छ। साथै, निर्वाचन परिणामलाई मात्रै पार्टीको भविष्यसँग जोडेर नहेर्न आग्रह गर्दै स्वदेश तथा विदेशमा रहेका पार्टीका सदस्य तथा समर्थकलाई उच्च मनोबलका साथ संगठनात्मक गतिविधिमा सक्रिय रहन अपिल गरेको छ।
प्रतिक्रिया