काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
उनी बुधबार राती करिब ८ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका थिए । बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सो क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको खनालले बताएका छन् ।
आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुबै पक्षबीच मतैक्य रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया