हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि सुरु हुँदैछ। हेटौंडा उपमहानगरपालिका–६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिताको औपचारिक उद्घाटन हुन लागेको हो।
यसअघि जेठ २४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको भए पनि आन्तरिक तयारीका कारण प्रतियोगितालाई असारको पहिलो सातासम्म सारिएको परिषद्ले जनाएको छ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधाका खेलहरू भने असार १ गतेदेखि नै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सञ्चालन भइसकेका छन्। परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलहरूको सहभागिता रहनेछ।
उनका अनुसार प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जनाको सहभागिता रहनेछ। प्रतियोगिता सञ्चालनका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सदस्य सचिव लामाले प्रतियोगिता नयाँ खेल प्रतिभा पहिचान, अनुभवी खेलाडीहरूको क्षमता प्रदर्शन तथा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण हुने बताए। उनले खेलकुद पूर्वाधार पूर्ण रूपमा तयार नभए पनि उपलब्ध संरचना र स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए।
प्रतियोगितामा १५ वटा खेल विधा समावेश गरिएको छ। हेटौंडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिसका प्रतिस्पर्धा हुनेछन्।
यस्तै महिला क्रिकेट र कराँतेका खेल चितवनमा सञ्चालन हुनेछन् भने भलिबल, पौडी, उसु र जुडोका प्रतिस्पर्धा काठमाडौं र ललितपुरमा आयोजना गरिने सदस्य सचिव लामाले जानकारी दिए।
प्रतिक्रिया