• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ : ओली

    377
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन् ।

    चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेकोमा असन्तुष्टि जनाएका हुन् ।

    बागमती भेलामा केही नेताहरूले ओलीको बिदाइको माग गरेका थिए । भेलामा त्यस्तो आवाज उठाउनेहरूलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको साथ रहेकोतर्फ सङ्केत गर्दै ओलीले पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्न नहुने बताएका थिए ।

    ‘पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्ने काम गर्नुहुँदैन’, अध्यक्ष ओलीले गुण्डुमा भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने- ‘लोभी पापी देखिएका छन् ।’

    प्रदेशका नेताहरूसँग करिब एक डेढ घण्टा कुराकानी गरेका ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टी कसरी चल्छ र चलाउनुपर्छ भन्ने बुझिनसकेको समेत बताएका थिए ।

    ‘उहाँहरूले बुझ्नु भा छैन, बिस्तारै बुझ्नुहुन्छ’, ओलीको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, ‘अर्को अध्यक्ष बनाए पनि कति दिन टिक्न दिन्छन् र टिक्छन् यो कुरा उहाँहरूले बुझ्नु नै भएको छैन ।’

    ओलीले पार्टीको पुनर्संरचना भनेको कोही मन्छेलाई अदलबदल गर्दैमा नहुनेमा जोड दिएका थिए । ‘कोही मान्छे अदलबदल गरेर मात्र पार्टी पुनर्संरचना हुँदैन’, ओलीले भनेका छन्, ‘हामीले हाम्रो सिङ्गो कार्यशैली, विधि र पद्धतिलाई बिचमा लुज गरेका हौँला अब त्यसलाई ठिकठाक गर्नुपर्छ र एक ढिक्का भएर जानुपर्छ ।’

    विधि पद्धतिलाई जोड दिएका ओलीले कमजोरी आफ्ना कारणले मात्र नभएको दोहोर्याउँदै कमजोरीको जिम्मेवारी कमिटीका सबै नेताहरूले लिनुपर्ने धारणा राखेका छन् ।

    ‘कमजोरीको जिम्मेवारी एक व्यक्ति भन्दा पनि सबै कमिटीका सबैले लिनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘विधि, पद्धति भत्केको हो यसको जिम्मेवार विष्णु, शङ्कर, पीएस पनि हुन् ।’ ओलीले ती नेताहरू यसअघि किन चुप लागेर बसेका हुन् भन्दै प्रश्न समेत गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ