काठमाडौँ । बलियो संघीय व्यवस्थाको माग गर्दै जनमत पार्टीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। पार्टीले संघीयतालाई थप प्रभावकारी र अधिकारसम्पन्न बनाउनुपर्ने मागसहित राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो।
पार्टी अध्यक्ष सीके राउत नेतृत्वको जनमतले यसअघि ‘नौलो गणतन्त्र’ अभियानको घोषणा गरे पनि त्यसपछिका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सकेको थिएन। २०८१ जेठ १५ गते भृकुटीमण्डपबाट आन्दोलन घोषणा गरिएको भए पनि प्रदेश र संघीय सरकारमा सहभागितापछि उक्त अभियान स्थगित भएको थियो।
हाल पार्टी कुनै पनि प्रदेश वा संघीय सरकारमा सहभागी नरहेको अवस्थामा संघीयता सुदृढीकरणलाई प्रमुख राजनीतिक एजेन्डा बनाउँदै सडकमा उत्रिन लागेको हो।
प्रदर्शनसँगै जनमत पार्टीका विभिन्न तहका बैठकहरू पनि काठमाडौंमा आयोजना गरिने भएका छन्। आइतबार केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति तथा जिल्ला कार्यसमितिको पूर्ण बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
बैठकमा सहभागी हुन देशभरबाट पार्टीका नेता तथा कार्यकर्ता काठमाडौं आइसकेका छन्। यही अवसरलाई उपयोग गर्दै पार्टीले माइतीघर मण्डलामा प्रदर्शनको कार्यक्रम राखेको जनाएको छ।
जनमत पार्टीले संघीयता कार्यान्वयनमा देखिएका कमजोरी सुधार, प्रदेशहरूको अधिकार विस्तार तथा संघीय संरचनालाई थप बलियो बनाउने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।
प्रतिक्रिया