काठमाडौँ । सीमा सम्बन्धी प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। पार्टीले उक्त अभिव्यक्ति राष्ट्रिय हित र सार्वभौमिकताको भावनाविपरीत रहेको आरोप लगाउँदै खबरदारी सभा आयोजना गरेको हो।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीले संसदमा दिएको भनाइ तथ्यहीन र गैरजिम्मेवार रहेको दाबी गर्दै त्यसलाई तत्काल फिर्ता लिन माग गरेका थिए। उनीहरूले ‘नेपाली माटोको रक्षा गरौँ’, ‘राष्ट्रको सम्मान जोगाऔँ’ र ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताए। उनले सीमा समस्या र भूमि अतिक्रमण फरक विषय भएको उल्लेख गर्दै राष्ट्रिय संवेदनशीलतासँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको धारणा राखे।
राईले आफ्नो पार्टीले सीमा र राष्ट्रिय हितका विषयमा उठाउँदै आएको अडान यथावत् रहने स्पष्ट पारे। उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकार थप जिम्मेवार हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया