काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले यतिवेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको जिकिर गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘रास्वपा सभापति रवि लामिछानेको The Hindustan Times मा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरङ्ग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खासगरी नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी) का कुरा गरून्जेल दुबैतिर बाइबाई नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। ‘
उनी थप लेख्छन्– ‘अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ१ त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो ! त्यसको पनि गाँठी कुरा हो-भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच! सीमा विवाद त्यसैको अभिव्यक्ति हो। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गढेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने ‘सिक्किमीकरण’को खतराको त्रास! यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भइरहेछ!’
यही गाँठो फुकाउन आफूले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)को अवधारणा अघि सारेको उनले स्मरण गरे । इपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको उनले बताए । रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना पनि उनले गरेका छन् ।

प्रतिक्रिया