काठमाडौं । नेपाल नेपाल ब्याडमिन्टन संघ को आयोजनामा सम्पन्न ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जन ले सिंगल्सतर्फ उपाधि जित्दै दोहोरो स्वर्ण हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा शनिबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारी लाई २१–१६, २१–३ को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक राष्ट्रिय च्याम्पियन बन्न सफल भए । यसअघि उनले २०७९ सालमा पहिलो राष्ट्रिय उपाधि जितेका थिए । एपीएफका देवराज राणा र आर्मीका प्रफुल महर्जन संयुक्त तेस्रो बने ।
महिला सिंगल्सतर्फ आर्मीकी रशिलाले तीनपटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङ लाई २१–१८, २१–१८ को सेटमा हराउँदै तेस्रो राष्ट्रिय उपाधि आफ्नो नाममा गरिन् । उनले यसअघि २०७६ र २०७९ सालमा पनि उपाधि जितेकी थिइन् । आर्मीकै अमिता गिरी र रिहाना शेरचन तेस्रो स्थानमा रहे ।
सिंगल्समा चम्किएका प्रिन्स र रशिलाले डबल्सतर्फ पनि स्वर्ण जित्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । महिला डबल्समा रशिला र अमिता गिरीको आर्मी जोडीले कोशी प्रदेशका रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै उपाधि जित्यो । कोशीका नङ्शल तामाङ–भावनादेवी किडम तथा नेपाल प्रहरीका सीता राई–सुष्मा श्रेष्ठको जोडी संयुक्त तेस्रो बने ।

पुरुष डबल्समा एपीएफका प्रिन्स दाहाल र देवराज राणाको जोडीले आफ्नै टोलीका भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१०, २१–१८ ले हराउँदै स्वर्ण जित्यो । नेपाल प्रहरीका सुनिल जोशी–कविर केसी तथा बागमती प्रदेशका राजु गरन्जा–सुमन शाक्यको जोडी तेस्रो स्थानमा रहे ।
मिक्स डबल्समा भने आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडी विजेता बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा उनीहरूले प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–११, २०–२२, २१–१९ ले पराजित गरे । एपीएफका प्रिन्स दाहाल–पूजा थाम्सुहाङ तथा नेपाल प्रहरीका कविर केसी–सुष्मा श्रेष्ठको जोडी तेस्रो बने ।
प्रतियोगितामा तीन स्वर्ण जितेको नेपाल आर्मी १ लाख रुपैयाँ नगदसहित टिम च्याम्पियन घोषित भयो । पाँच स्पर्धा समावेश प्रतियोगितामा एपीएफले दुई स्वर्ण जित्यो । मिक्स डबल्सको फाइनलअघि नै आर्मी टिम च्याम्पियन बन्ने निश्चित भएको थियो, किनकि अन्तिम फाइनल आर्मीकै दुई जोडीबीच तय भएको थियो ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटी का अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली गरी १० टिमका ११५ खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया