• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालेन सरकारको निर्णय र कारवाही शैली ‘सेलेक्टिभ’ अनि पूर्वाग्रही, तत्काल आन्दोलन गर्दैनौं : कांग्रेस

    211
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ ।

    पार्टीले सरकारको पछिल्लो निर्णय र कारवाहीको शैलीलाई ‘सेलेक्टिभ’ र पूर्वाग्रही भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी दिएको छ ।

    पार्टी प्रवक्ता देवराज चालिसेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित छानविनको माग प्रारम्भदेखि नै गर्दै आएको जनाएको छ । कांग्रेसले भदौ २५ गते नै उच्चस्तरीय आयोग गठनको माग गरेको र भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसले हालै सम्पन्न बैठकबाट पनि गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । सञ्चार माध्यमबाट बाहिरिएको प्रतिवेदनबारे आएका प्रतिक्रिया हेर्दा आयोगले भदौ २३ का घटनालाई विस्तृत रुपमा हेरेको तर २४ का घटनालाई नजरअन्दाज गरेको देखिएको भन्दै कांग्रेसले यसलाई विधिको शासनविपरित र त्रुटिपूर्ण भनेको छ । प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको तथा सर्वोच्च अदालतले कार्कीको निष्पक्षतामा उठाएको प्रश्नलाई समेत यसले बल पुर्‍याउने कांग्रेसको ठहर छ ।

    तत्कालीन सुशील कार्की नेतृत्वको सरकारले प्रतिवेदन अध्ययन गरी संसदमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकोमा चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले भने सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी अन्यमा तत्काल कार्यान्वयन गर्ने निर्णय गर्नु र हतारमा पक्राउ गर्नुलाई कांग्रेसले गलत भनेको छ । यसले सरकारको व्यवहार ‘सेलेक्टिभ’ देखिएको र कानुनका स्थापित विधि पालना नभएको कांग्रेसको आरोप छ ।

    सरकारले न्याय निरुपण गर्नु भन्दा घटनामा थप राजनीति गर्न खोजेको देखिने कांग्रेसको भनाइ छ । गठनको २४ घन्टा नबित्दै सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि कांग्रेसको यस्तो धारणा आएको हो ।

    तत्काल कुनै आन्दोलन तय भएको छैन 

    साथै कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको उनले प्रष्ट पारेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने ।आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको पनि उनले बताए ।

    ‘हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो । थप केही सोच्नुपर्‍यो भने फेरि निर्णय गरौं,’ प्रवक्ता चालिसेले भने ।

    साथै, आयोगको प्रतिवेदनमा भदौ २३ को जस्तो अनुसन्धान २४ गतेकोमा नभएको भन्दै आपत्ति जनाए । २४ गतेको घटनाको पनि अनुसन्धान हुनुपर्ने कांग्रेसको भनाइ छ ।

    ‘२४ गतेको घटनालाई यतिकै छाड्न मिल्छ र ? २४ गते कसले विध्वंश गरायो भनेर जनतालाई भन्नु पर्दैन ? को दोषी छ थाहा पाउनुपर्दैन ?,’ प्रवक्ता चालिसेले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ