काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई जनताको शासक होइन, सेवक बन्न उनको अपिल गरेका छन् । अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिए ।
ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरे ।
लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरुले इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिए । आफूहरुले इतिहासको योगदानलाई धन्यवाद भनेको, अनि भविष्यको जिम्मेवारी चाहिँ रास्वपाले लिने उनले सन्देश दिए ।
पार्टी स्थापनाकालदेखि साढे तीन वर्षमा कदम–कदममा चुनौती बेहोर्नुपरेको, तर त्यसलाई नागरिकको मायाले जित्दै आएको लामिछानेको भनाई छ । अब सरकारमा आएर परिणाममार्फत् त्यो गुन तिर्ने उनले बताए ।
लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरुलाई ३५ वर्ष कुरेको, तर आफूहरुलाई ३५ दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न आग्रह गरे । सांसदहरुलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन गरे ।
‘पार्टीभित्र स्वतन्त्रता छ, तर यसको अर्थ अनुशासन पनि त्यहीँनेर छ,’ लामिछानेले भने, ‘धेरै कुरामा विचार गर्नुहोला । यसपल्ट हामी राइट टु रिकल (प्रत्याह्वान) को व्यवस्थालाई कडाईका साथ लागु गर्नेछौं ।’
उनले मन्त्री बन्ने दौडमा सामेल नहुन सांसदहरुलाई आग्रह गरे । स्वार्थसमूहहरुले विभिन्न बहानामा प्रभावित पार्न कोसिस गर्ने भन्दै सतर्क हुन उनको आग्रह थियो ।
रमाइलो वा उत्सवको अनुभूति नराख्न उनले भन्दै सम्झना दिलाए, ‘याद राख्नुहोला, यहाँ शहीदकी आमा पनि छिन् । आफ्नो छोरा गुमाएर उनी संसदमा आएकी छन् ।’
यसअघिका सरकार निर्माण क्रममा अनुभूति सुनाउँदै सभापति लामिछानेले भने, ‘सरकार बनेकै साँझदेखि ढाल्ने प्रयासमा समूहहरु लाग्छन् । हामी सतर्क बन्नुपर्छ ।’
लामिछानेले वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो आस्था अविच्छिन्न कायम रहेको भन्दै आशंका नराख्न पनि आग्रह गरे । नेपाली जनताले अहिलेसम्म कसैलाई नगरेको विश्वास रास्वपालाई गरेकाले यसको महत्व बुझ्न उनले सांसदहरुलाई निर्देशन दिए ।
उनले दुई तिहाई निकट बहुमत पाएको पार्टीको सभापतिका रुपमा राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रहरुलाई आफ्नो पार्टीको नेतृत्वप्रति भरोसा गर्न अपिल गरेका छन् ।
उनले निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय अनि लगानीकर्ताहरुलाई समेत विश्वास दिलाउन खोजेका छन् । लामिछानेको पूर्ववत् आक्रामकता अब नयाँ भूमिकासहित बदलिने संकेत देखिएको छ ।
उनले रास्वपाका कार्यकर्तालाई राम्रोसँग प्रशिक्षित गर्ने समय नै नपाएको स्वीकार गर्दै सामाजिक सन्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन् । उनले रास्वपा समर्थकहरुलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन् ।
वरिष्ठ नेता बालेन शाह कार्यक्रममा सहभागी भएनन् । लामिछानेले बालेनको नाम आफ्नो मन्तव्यमा उच्चारण गरेनन् ।
बालेन स्वास्थ्यलाभ गरिरहेको रास्वपाले जानकारी दिएको छ । यद्यपि उनी रुटिन अफ् नेपाल बन्दका सन्चालक भिक्टर पौडेलले लेखेको स्टाटसमा कमेन्ट लगायत क्रियाकलाप गरिरहेको बेला पार्टीको महत्वपूर्ण बैठकमा किन एकछिन पनि सहभागी भएनन् भन्ने जिज्ञासा उठिरहेको छ ।
प्रतिक्रिया