काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने दुवै टोलीको टुंगो लागेको छ।
आज कोलकताको इडेन गार्डेनमा भएको खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर-८ मा स्थान सुरक्षित गरेसँगै समीकरण पूरा भएको हो।
यसअघि यो समूहबाट आयोजक वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर-८ मा पुगिसकेको थियो। इंग्ल्यान्डको जितसँगै अन्तिम खेलअघि नै नेपाल र स्कटल्यान्ड बाहिरिएका छन् भने इटालीको पनि अगाडि बढ्ने सम्भावना समाप्त भएको छ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार पारेको थियो।
इंग्ल्यान्डका लागि विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा अर्धशतक प्रहार गरे। उनले २२ बलमा ५३ रन बनाउने क्रममा ३ चौका र ४ छक्का प्रहार गरे। यो इंग्ल्यान्डका लागि टी-२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सबैभन्दा छिटो अर्धशतक हो। यस्तै, टम ब्यान्टनले ३०, फिल साल्टले २८, साम करनले २५ र ज्याकोब बेथेलले २३ रनको योगदान दिए।
बलिङतर्फ इटालीका क्रिशन कालुगामागे र ग्रान्ट स्टुअर्ट २-२ विकेट लिए। २०३ रनको कठिन लक्ष्य पछ्याएको इटालीले निकै साहसका साथ ब्याटिङ गर्दै १८ ओभरसम्म खेलमा आशा जीवितै राखेको थियो।
इटालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। इटालीका लागि बेन मानेन्टीले २५ बलमा ६० रनको महत्वपूर्ण इनिङ खेले भने ग्रान्ट स्टुअर्टले मात्र २३ बलमा ४५ रन बनाउँदै इंग्लिस बलरलाई दबाबमा राखेका थिए। ओपनर जस्टिन मोस्काले ४३ रन जोडे।
तर, खेलको १९औं ओभरमा साम करनले कसिलो बलिङ गर्दै इटालीको रन गति रोकेपछि इंग्ल्यान्डको जित सुनिश्चित भएको थियो। उनले ३ विकेट लिन सफल भए। जोफ्रा आर्चरले २ विकेट लिए भने जेमी ओभरटन ३ विकेट लिए।
यो जितसँगै समूह ‘सी’ बाट इंग्ल्यान्ड र वेस्ट इन्डिजले अन्तिम आठमा स्थान बनाउँदा नेपाल, स्कटल्यान्ड र इटालीको यात्रा समूह चरणमै सीमित भएको छ। नेपालले अन्तिम खेलमा मंगलबार राति स्कटल्यान्डसँग खेल्दैछ।
प्रतिक्रिया