काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस २७ गते पार्टी निकटका युवाहरूको भेला गर्न स्वीकृति दिएका छन् ।
बिहीबार बिहान देउवा निवास महाराजगञ्जमा देउवा भेट्न पुगेका नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, किसान सङ्घका अध्यक्ष गणेश तिमिल्सिना र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पुस २७ गते युवा भेला गर्ने प्रस्ताव गरेका थिए ।
त्यो प्रस्ताव कार्यान्वयन गर्न देउवाले स्वीकृति दिएका भेटमा सहभागी विद्यार्थी सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिए । पुस २७ गते नै विशेष महाधिवेशन पक्षधरले काठमाडौँमा विशेष महाधिवेशन बोलाएका छन् । त्यसको काउन्टरमा युवा भेला गर्न लागिएको हो ।
भेलाको संयोजनको जिम्मा तरूण दल अध्यक्ष गुरुङलाई दिइएको शेर्पाले बताए । भेटमा देउवाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्न भ्रातृसंस्थाका अध्यक्षहरूलाई निर्देशन दिएका थिए ।
विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् । महाधिवेशनका लागि विशेष पक्षधरले भृकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेका छन् ।
प्रतिक्रिया