काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न गरिएको सिफारिसप्रति आपत्ति जनाएको छ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो कदमलाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गर्दै आपत्ति जनाएका हुन्।
‘अध्यक्ष ओलीसहितको राहदानी रोक्काबारे आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर अनि दसैंको अवसर पारेर गरिएको यो राजनीतिक प्रतिशोधपूर्ण कदमप्रति सचिवालयले गम्भीर आपत्ति प्रकट गर्दछ।’
भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको हो।
ज्ञवालीका अनुसार यस्ता निर्णयले जाँचबुझ आयोगकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
प्रतिक्रिया