• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

प्रचण्डको खुलासा : संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो

1.8K
SHARES



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताए । उनले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई समेत दिए ।

यस्तै प्रचण्डले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न अपिल गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनका कारण यो पटकको संविधान दिवस फरक ढंगले मनाइरहेको बताउँदै यो नै मौलिकता र विशेष रहेको पनि बताए ।

‘यतिवेला हामी ११ औँ संविधान दिवस मनाउँदै छौँ, त्यो विशेष तरिकाले मनाउँदै छौ । जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिका बिचमा संविधान दिवस मनाउँदै छौ’, प्रचण्डले भने, ‘यही नै मौलिकता र विशेषता हो भन्ने लागको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइपुग्न झन्डै ७० वर्ष भन्दा लामो यात्रा तय गर्नुपरेको पनि बताए ।

‘त्यसविचमा थुप्रै आन्दोलनहरू भए’, उनले भने, ‘यसक्रममा जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न सक्नुपर्छ ।’ उनले संविधान बनाउने काम जटिल र चुनौतीपूर्ण रहेको भन्दै एकथरी राजनीतिक शक्तिहरू संविधानसभाबाट संविधान बनाउने र त्यसमा दलित, महिला मधेसी, कर्णाली मेची महाकालीको पहिचानसहितको संविधान बनाउने रुचि नरहेको बताए । त्यसक्रममा प्रचण्डले आफू अहिलेको संविधान अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको भन्दै ठुला दलका अहङ्कारका कारण अहिले यो अवस्था आएको बताए ।

‘अरू कुराका अतिरिक्त त्यसवेला अहिले ठुला भन्ने पार्टीका नेतालाई प्रधानमन्त्री अफर गर्नुपर्ने बाध्यतामा परेको स्मरण गर्न चाहन्छु’, प्रचण्डले भने, ‘यदि मैले उनीहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने ठाउँमा ल्याइनपुर्याएको भए के हुन्थ्यो होला ? अहिले पनि मेरो दिमागमा ती घटनाक्रम घुमिरहेको छ ?’ उनले आफूले भनेजसरी संविधान बनाउन सकेको भए सायद अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था पनि नआउन सक्ने बताए । संविधान बनाउन नदिन ठुलो दबाब र धम्की आफूले भोग्नुपरेको स्मरण प्रचण्डको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ