काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।
सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोतले बतायो ।
जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए ।
छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।
राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए ।
कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएको स्रोतले बतायो । स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।
प्रतिक्रिया