काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।
केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् ।
अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे। प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुन माग राखे।
नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिएका छन्। यसैबीच जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ ।
बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको हो । उनीहरू दुवै जना बैठकमा पुगिसकेको स्रोतले जानकारी दियो ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू छन् । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौँमा नरहेकाले उपस्थित नभएको स्रोतले बतायो ।
जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा हताहती भएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । यसबारे पनि छलफल हुने एक नेताले बताए ।
सभापति देउवाले यसअघि पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए ।
प्रतिक्रिया