काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रू. १३६ करोडको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
आयोजनासम्बन्धी सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजना निर्माणका लागि चिनियाँ ठेकेदारलाई इञ्जिनियरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडलअनुसार ठेक्का दिइएको छ।
निर्माण सम्पन्नपछि उक्त आयोजना मार्फत उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिनेछ। यसअघि नै चिनो हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता २०८२ सालको वैशाखमा सम्पन्न भइसकेको छ। आयोजनाबाट वार्षिक ४४.४६३ गिगावाट-आवर विद्युत् उत्पादन हुने छ।
प्रतिक्रिया