• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रेशम पक्राउ परेपछि जनमत र नाउपाबिच एकता घोषणा कार्यक्रम स्थगित, सर्वोच्चको पत्रमा के छ ?

    2.4K
    SHARES



    काठमाडौँ । बुधबार प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद पाएका नाउपाका संरक्षक चौधरीले २०८० जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि छुटेका थिए ।

    प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको रिट तथा मुद्दा महाशाखाले बुधबार मात्रै उक्त फैसला कार्यान्वयन गरी तत्काल थुनामा राख्न पत्र पठाएको हो । सर्वोच्चले पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    सर्वोच्चले प्रहरीलाई पठाएको पत्रमा राष्ट्रपतिबाट आममाफी पाएका रिगल ढकाल ‘योगराज’ समेतको मुद्दाको फैसलाको समेत नजिर प्रस्तुत गरेको छ । र त्यसकै आधारमा हाललाई चौधरीलाई कैदमा राख्न भनिएको छ । राष्ट्रपतिबाट ढकालले आममाफी पाएपछि भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले फैसलाको व्याख्या गरेपछि ढकाल पुनः थुनामा गएका थिए ।

    पत्रमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा पाशविक किसिमले ८ जना सुरक्षाकर्मी र १ नाबालकको हत्या गरेको जघन्यभन्दा पनि तल्लोस्तरको क्रुर अपराध गरेकाले चौधरीलाई २० वर्ष कैद ठहर भएकोमा पूर्णपाठ पनि नआई राष्ट्रपतिबाट आममाफी दिइनु अपराधको राजनीतीकरण भनेको छ ।

    राष्ट्रपतिबाट सर्वोच्च अदालतबाट पूर्ण फैसला तयार नभई अपराधलाई राजनीतीकरण हुने गरी भएको आममाफीको निर्णयविरुद्ध सर्वोच्चमा २०८० जेठ १६ गते टीकापुर घटनाका मृतक पीडित प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले उत्प्रेषणको मुद्दा दिएकी थिइन् ।

    उक्त उत्प्रेषणको मुद्दा अदालतको पूर्ण वा संवैधानिक इजलासबाट शीघ्रातिशीघ्र आदेशमा फैसलाद्वारा कारबाही हुने र कैलाली जिल्ला अदालतबाट पुनः कैदी पुर्जी जारी हुने नै हुँदा तत्काल रेशमलाई पक्राउ गरी कैदमा राख्न भनिएको छ ।

    नियन्त्रणपछि चौधरीलाई डिल्लीबजार कारागार थुनामा राखिएको छ । जिल्ला र उच्चबाट दोषी ठहर भई कारागार चलान भएका चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदनमा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गरी २०८० जेठ २ गते जन्मकैदको सजाय सुनाएको थियो ।

    २०८० जेठ २ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशम चौधरीसहित प्रतिवादीको सजाय सदर गर्दै सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिएको थियो भने लक्ष्मण थारूको हकमा केही निर्णय उल्टाएको थियो ।

    त्यसको १३ दिनमै गणतन्त्र दिवसको अवसर पारेर उनलाई सरकारले आममाफी दिएको थियो । तर रिहा भएको अढाइ महिनापछि २०८० साउन ३१ गते मात्रै उनलाई सर्वोच्चले थुनामा पठाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।

    एकता घोषणा स्थगित 

    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

    ती दुई पार्टीबिच आज घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

    उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको उनले बताए ।

    उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । दुई पार्टी बिचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा राखिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ