• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण

    451
    SHARES



    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए/गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने भएको छ ।

    प्राधिकरण सञ्चालक समितिको बैठकपछि श्वेतपत्र सार्वजनिक गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । श्वेतपत्रका विषयमा अहिले प्राधिकरण सञ्चालक समितिको बैठक बस्न लागेको छ । बैठकको लागि सञ्चालक समिति अध्यक्ष ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री प्राधिकरण पुगेका छन् ।

    बैठकले श्वेतपत्र पारित गरेसँगै आज नै सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका काम र प्राधिकरणको आर्थिक अवस्थाको विषयलाई समावेश गरी श्वेतपत्र प्राधिकरणले बनाएको छ ।

    प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले बोर्ड बैठकमा श्वेतपत्रका विषयमा पहिलो चरणमा छलफल भइसहेको बताए । उनले आजै अर्को बैठक बसेर सार्वजनिक गर्ने तयारी रहेको बताए । उनले समय भने यकिन नभएको बताए ।

    प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् । प्राधिकरणको वास्तविकताका विषयमा जानकारी दिन श्वेतपत्र ल्याउने लागेको प्राधिकरणले बताउँदै आएको थियो ।

    श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख भएको स्रोतले जानकारी दिएको छ । उक्त रकमको भुक्तानी दिन नसकिएको उल्लेख गरिएको छ ।

    श्वेतपत्रमा प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड रकम मात्रै मौज्दात रहेको उल्लेख गरिएको जानकारी आएको छ । त्यस्तै मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ रहेको देखाएको छ ।

    विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको यसअघि नै जानकारी दिइसकेको छ । त्यस्तै प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको तत्कालीन कार्यकारी निर्देशक घिसिङले सार्वजनिक गरेका थिए ।

    विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालू आव साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (कर कट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको थियो ।

    २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।

    प्राधिकरणले चालु आव पहिलो ६ महिना विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको थियो । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ ।

    त्यसका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको प्राधिकरणले जनाएको थियो । भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।

    गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको पनि प्राधिकरणले जनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ