काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन जन्मदात्री आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्ने परम्परागत पर्व आमाको मुख हेर्ने दिन आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
आजको दिन छोराछोरीहरू बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई मीठा-मीठा खानेकुरा खुवाउने, राम्रा लुगा लगाइदिने र आमाको आशिर्वाद लिने चलन रहेको छ।
वैदिक सनातन शास्त्रअनुसार उपाध्याय, आचार्य र पिताभन्दा आमाको महत्त्व उच्च मानिएको छ। आमाले सन्तानलाई नौ महिना गर्भमा धारण गरी जीवन दिने भएकाले उहाँप्रति विशेष सम्मान व्यक्त गर्नुपर्ने मान्यता छ।
जीवित आमालाई प्रेमपूर्वक सम्मान गर्ने परम्परा भएझैं, दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्ने धार्मिक परम्परा पनि आजकै दिनसँग जोडिएको छ। तर्पण र सिदादानमार्फत दिवङ्गत आमालाई श्रद्धाञ्जली अर्पण गरिन्छ भन्ने शास्त्रीय विश्वास छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि प्यारो मानिएको वैदिक शिक्षामा उल्लेख छ।
यसै अवसरमा आज चन्द्रागिरि नगरपालिका–स्थित मातातीर्थमा मेला लागेको छ। मातातीर्थलाई दिवङ्गत आमाको सम्झनामा श्रद्धा प्रकट गर्ने प्रमुख स्थलका रूपमा लिइन्छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले, यस वर्ष गुरु अस्त तथा सूर्यग्रहण जस्ता खगोलीय घटनाले आमाको मुख हेर्न नहुने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। समितिले परम्परा अनुसार आजको दिन श्रद्धापूर्वक आमाको मुख हेर्ने पर्व मनाउन आग्रह गरेको छ।
प्रतिक्रिया